५ आश्विन २०८१, शनिबार

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा,सीमा विषयमा छलफल हुने

प्रकाशित मिति :  14 January, 2021 3:20 pm


काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ ।

मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशङ्कर सुब्रमहण्यमले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल छन् ।

नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ ।

सत्र महिनाअघि आयोगको पाँचौ बैठक काठमाडौँमा भएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यो बैठक निर्धारित समयभन्दा पाँच महिनापछि हुन लागेको हो । रासस



प्रतिक्रिया दिनुहोस !