३ आश्विन २०८१, बिहिबार

विप्लव नेतृत्वको नेकपाद्धारा नेपाल बन्दसहितका विरोध कार्यक्रम घोषणा

प्रकाशित मिति :  14 January, 2021 5:30 pm


काठमाडौं । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सहितका नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाल बन्द लगायतका कार्यक्रम घोषणा गरेको छ ।

महासचिव नेत्र विक्रम चन्द विप्लवले आज विज्ञप्ति जारी गर्दै देश व्यापी विरोध सभा,जुलुस र प्रर्दशनसहित नेपाल बन्द सम्मको आन्दालन घोषणा गरेका हुन् । प्रहरीले हिजो ललितपुरबाट उक्त पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य बास्तोला ब्यूरो सदस्य विवेक र विशाललाई पक्राउ गरेको थियो ।  सोही विरोधमा नेकपाले विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्छौं ।”

महासचिव विप्लवले राज्यको दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने बर्तमान सरकाले बेलैमा यसलाई बुझोस् भन्दै चेतावनी दिएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, “यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल    गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।”



प्रतिक्रिया दिनुहोस !