४ आश्विन २०८१, शुक्रबार

एमसीसीबारे छिटो निर्णय गर्नुपर्नेमा ऊर्जा मन्त्री रायमाझीको जोड

प्रकाशित मिति :  15 January, 2021 2:20 pm


रुपन्देही । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छिटो निर्णय गर्नुपर्ने बताएका छन् ।

बुटवलमा पत्रकारसँग कुरा गर्दै रायमाझीले एमसीसी लागू गर्ने र नगर्नेबारे छिटै निर्णय गर्नुपर्ने बताएका हुन् । विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे निर्णय लिइहाल्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, “एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन ।”

उर्जामन्त्री रायमाझीले आफू पनि विदेशी लगानी भित्राउने पक्षमा नभएको तर एमसीसी चाहि १० वर्ष पहिलेदेखि नै नेपाल सरकारले ल्याएको र त्यसको कार्यान्वयन गर्ने कि नगर्ने भन्नेमा छिटै निर्णय गनुपर्ने बताए ।

आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए । यसले गर्दा दैनिक एक अर्ब बराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा उनले जनयुद्धको लिगेसी आफुहरुले नछाडेको दावी गरेका छन् । उनले जनयुद्धको लिगेसी बरु प्रचण्डले छाडेको आरोप लगाएका छन् ।मन्त्री रायमाझीले प्रश्न गरे, “लिगेसी भनेको के हो ? प्रचण्डसँग बसिरदा मात्रै हो ? अरु गर्दा जनयुद्ध लिगेसी नहुने ? वैद्य, विप्लव, भट्टराई, बादल, मणि थापाले प्रचण्डको साथ नदिँदा लिगेसी अब उहाँसँग छैन । बरु हामीतिर छ ।”

 



प्रतिक्रिया दिनुहोस !