५ आश्विन २०८१, शनिबार

लुम्बिनी विकास कोषले पर्यटन मन्त्री तथा आफ्नै बोर्ड अध्यक्ष फेरिएको अझै थाहा पाएन !

प्रकाशित मिति :  15 January, 2021 4:31 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि मन्त्रिपरिषदबाट पनि मन्त्रीहरु हटे । प्रचण्ड -नेपाल समूहका ७ जना मन्त्रीहरुले पुस ५ गते नै राजीनामा दिएका थिए र राजीनामा दिने मध्यका एक थिए संस्कृति, पयर्टन तथा नागरिक उड्यन मन्त्री योगश कुमार भट्टराई ।

पर्यटन मन्त्री लुम्बिनी विकास कोषको बोर्ड अध्यक्ष हुने व्यवस्था छ । माघ २ गते (आज) भट्टराई मन्त्रीबाट हटेको २६ दिन भयो । तर, लुम्बिनी विकास कोषले भने मन्त्री फेरिएको ‘चाल पाएको’ छैन । पर्यटन मन्त्रीको रुपमा भानुभक्त ढकाल आइसकेका छन् ।

पुस १० गते नै ढकाल पर्यटन मन्त्रीमा नियुक्त भएका थिए । कोषको वेबसाईटमा भने अहिलेपनि अध्यक्षको हैसियतमा तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराई नै छन् । पर्यटन मन्त्री ढकालले बोर्ड अध्यक्षको हैसियतमा लुम्बिनी विकास कोषमा पुगेर जानकारी समेत लिइसके । तर, कोषले आफ्नो वेबसाईटमा बोर्डका अध्यक्षबाट भट्टराईको नाम हटाएको छैन ।

कोषका एक सदस्यले भने, “कोषको यो लापरबाही हो, यहाँको नेतृत्वले बुझ्ने कुरा हो तर मैलेपनि अहिले थाहा पाए, के गर्ने यस्तै छ ।” मन्त्री ढकालले अस्तिमात्रै कोषको बारेमा जानकारी लिएका थिए ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले विगतमा पनि यो समस्या देखिएको बताए । उनले भने, “म आउँदापनि यस्तो समस्या भएको थियो, त्यति बेला पनि एक महिनासम्म फेरिएको थिएन । म भोली नै परिवर्तन गर्न लगाउँछु । यो मेरोपनि अब जिम्मेबारी हो ।”



प्रतिक्रिया दिनुहोस !