४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले पार्टी एकता गर्दाको संकल्प, प्रतिबद्धता र प्राप्त जनमतप्रति विश्वासघात गरे : नेता पुन

प्रकाशित मिति :  16 January, 2021 2:45 pm


दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओली र उनको समूहले पार्टी एकता गर्दाको संकल्प प्रतिबद्धता र प्राप्त जनमतप्रति विश्वासघात गरेको बताएका छन् ।

दाङको तुलसीपुरमा वृहत कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले हिजो दुई पार्टी एक हुँदा गरिएका संकल्प, प्रतिबद्धता मिचेको र प्राप्त जनमतप्रति ओली र उनको समूहले विश्वासघात गरेको बताएका हुन् ।

दुई कम्युनिष्ट पार्टी एक भएर कम्युनिष्ट पार्टीलाई मूल प्रवाहीकरण गरेको भन्दै यसको नेतृत्व अहिले प्रचण्ड र माधव नेपालले गरेको बताए । उनले विगतमा पार्टीभित्र बहस हुँदा पक्ष र विपक्ष हुने भएपनि ओली गुट गलत बाटोमा लागेको आरोप लगाए ।

उनले भने,”हिजो पार्टी एकता गर्दा जुन संकल्प गरिएको थियो, जुन प्रतिबद्धता गरिएको थियो र जसरी पाँच वर्षका लागि जनमत प्राप्त भएको थियो त्यसमाथी केपी ओली र उनको गुटले विश्वासघात गरेको छ ।”

पार्टी भित्रका विभाजनलाई पद र प्रतिष्ठासँग जोड्न खोजिएको भन्दै यो गलत भएको पुनको भनाई थियो । उनले भने “यो कुनै पदको लडाई होईन यहाँ कुरा राजनीति,विचार,विधि र जनताको म्याण्डेटको हो । ओली प्रवृतिले यि सबै कुरा ध्वस्त पार्न खोजेपछि यसको विरोधमा हामी अगाडि बढेका हौं । तपाईँहरुको मनमा यस्तो छ भने मनबाट निकालिदिनुस्, यहाँ चुनौती प्राप्त उपलब्धी रक्षाको हो ।”

पुनले ओली समाजवादप्रति र समाजवादको आधार तयार गर्न प्रतिबद्ध नदेखिएको आरोप समेत लगाए । नेता पुनले प्रधानमन्त्री ओली आजपनि फेरि बलयगाडा शैलीमा फर्किएको टिप्पणी गरे । उनले दुबै अध्यक्ष माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई नअलमलिकन अगाडि बढ्न समेत आग्रह गरे ।

ओली प्रवृति असंवैधानिक कदमबाट अगाडि बढीरहेको भन्दै नेता पुनले भने, केपी ओली प्रवृतिलाई पराजित गर्न नडगमगाई अगाडि बढ्न्स्,हौसला र उच्च मनोबलका साथ अगाडि बढ्नुस् । उनले अहिले पार्टी संघर्षमा रहेको भन्दै पार्टीको पदिय हिसाब नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले अहिले निस्वार्थ भावनाले नेतृत्वलाई अहिले सहयोग गर्न आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस !