४ आश्विन २०८१, शुक्रबार

बैशाखको निर्वाचनमा जुट्न काँग्रेस नेताको आग्रह

प्रकाशित मिति :  16 January, 2021 9:58 pm


माधवकुमार ओली
रोल्पा, माघ ३ ।

नेपाली काँग्रेसले शनिवार देशका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन तथा सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै कतिपय नेताहरुले बैशाखको निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । रोल्पाको लुङ्ग्री गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री सुरेन्द्र हमालले संसद् विघटन गर्नु असंवैधानिक भए तापनि चुनावमा भने काँग्रेस सहभागि हुने बताए । ‘संविधानको रक्षाका निम्ती काँग्रेसले सांकेतिक विरोध गरेको हो’ काँग्रेस रोल्पाका संस्थापक नेता समेत रहेका हमालले भने ‘तर यो निर्वाचनको तयारी स्वरुपको भेला पनि हो ।’
स्थानीय निर्वाचनमा काँग्रेसले विजयी हाशिल गरेको लुङ्ग्री गाउँपालिकाको सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै समय काँग्रेस किल्ला रहेको रोल्पा अहिले बाम किल्लाको रुपमा चिनिनु दुःखद् भएको भन्दै फेरी काँग्रेस किल्ला बनाउन सबै लाग्नुपर्ने धारणा राखे । ‘कम्युनिष्टहरुले ठूला सपना देखाउने तर काम केहि नगर्ने भएकाले अब जनता सचेत हुनुपर्छ’ हमाले भने ‘अब काँग्रेसलाई बहुमत सहितको सरकार बनाउने सुनौलो अवसर फेरी आएको छ ।’
२०५१ र २०५६ को संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भई पटक–पटक गरी विभिन्न राज्यमन्त्रीको जिम्मेवारी सम्हालीसकेका नेता हमालले सोही कार्यक्रमा झण्डै दुई दर्जन नेकपा र जनमोर्चाका कार्यकर्तालाई काँग्रेस प्रवेश गराएका थिए । यस्तै उक्त सभालाई सम्बोधन गर्दै लुङ्ग्री गाउँपालिकाकी उपाध्यक्ष भिमकला बुढाथोकी, वडाध्यक्षहरु अमृत घर्ती, मती पुन तरुण दल रोल्पाका सचिव लिलाधर आचार्य, लुङ्ग्री गाउँपालिका पार्टी सभापति किम बहादुर विष्ट लगायतले गाउँ गाउँमा काँग्रेस प्रति जनलहर देखिएकाले नेतृत्वले आन्तरिक किचलोको अन्त्य गरी एक ढिक्का भएर लाग्नुपर्ने आवश्यकता औल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !