४ आश्विन २०८१, शुक्रबार

माधव नेपालमाथि पोख्रेलको टिप्पणी : शान्ति प्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड !

प्रकाशित मिति :  17 January, 2021 12:31 pm


काठमाडौं । माधव नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुरुदेखि नै सहकार्य गरेको भनाईप्रति प्रश्न उठाएका छन् ।

शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक कुरा भन्दै ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले  लेखेका छन्,”त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्यमा रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?”

उनले सामाजिक सञ्चाल फेसबुकमा भनेका छन्,”माधव कमरेड तपाईंले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंँग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड ! त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ? ”

अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न आफ्नै मान्यताका विपरित नबोल्न पोख्रेलले सुझाव दिएका छन् । उनले भनेका छन्,”विधि र पद्धतीमा जोड दिने तपाईँले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौं ।”

पोख्रेलले थप भनेका छन् “त्यो भन्दा पहिले लामो समयसम्म तपाईँकै नेतृत्वमा माओवादी उग्रवामपन्थ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?”

तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै नेकपा विभाजन भयो र अहिले एउटा समूहको नेतृत्व पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरिरहेका छन् ।

तत्कालिन जनयुद्धका बेला प्रचण्ड नेकपा माओवादीका अध्यक्ष थिए भने नेपाल तत्कालिन नेकपा एमालेका महासचिव । तर अहिले विगतदेखि नै प्रचण्डसँग सहकार्य थियो भनेर नेपालले सार्वजनिक भषण गर्न थालेपछि पोख्रेलले प्रश्न उठाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !