४ आश्विन २०८१, शुक्रबार

ओली जन्त जाँदा रुने र मलामी जाँदा हाँस्ने मान्छे रहेछन् : प्रचण्ड

प्रकाशित मिति :  17 January, 2021 2:37 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता स्तब्ध बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मजाक गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली ‘जन्त जाँदा रुने र मलामी जाँदा हाँस्ने मान्छे’ रहेछन् भने ।

उनले भने,“मैले मिडियामा हेरे प्रधानमन्त्रीले भन्नुभएछ, मैले मान्छेलाई हसाएँ भनेर किन पिर पर्‍या होला । त्यो मलाई नै भन्या हो उहाँले । मलाई पिर पर्ने भन्दापनि के हो भने नेपाली जनताले ७ दशक लडेर ल्याएको उपलब्धीको हत्या भएको छ । हामी झण्डै मान्छे मरेको, बा आमा मरेपछि जो चिन्ता हुन्छ सबैलाई । हामी त्यो चिन्ताको बेलामा हामी हास्न सक्दैनौं । हामी कमिक गर्न सक्दैनौंं ।”

अध्यक्ष प्रचण्डले ओली गणतान्त्रिक आन्दोलनको उत्सवका बेला रुँदै हिँडेको र अहिले संविधानको हत्या गरेर हास्दै हसाउँदै हिँडेको टिप्पणी गरे । उनले भने,“तपाई त्यस्तो मान्छे हुनुहुँदो रहेछ । हिजो जनता उत्सव मनाउँदै थिए, जसरी विवाहमा मान्छेहरु नाच्छन् गाउछन्, रमाईलो गर्छन् त्यस्तै जनताको लागि अन्दोलन, गणतन्त्रको आन्दोलन ,समावेशीताको आन्दोलन, लाखौंलाख जनता सडकमा आउने भनेको उत्सव हो । हामी त्यै उत्वसमा थियौं, आन्दोलित थियौं । उफ्रेका थियौं आवेकमा थियौं,त्यतिबेला तपाईं रुँदै हिँड्नुभाथ्यो बयलगाडाको कथा हाल्दै । हुन सक्दैन ! हुन सक्दैन ! भन्नुहुन्थ्यो ।”

अध्यक्ष प्रचण्डले आफूले सार्वजनिक कार्यक्रमहरुमा ओलीको जोकबारे गरेको टिप्पणीबारे प्रष्ट पार्दै भने,“तपाईंको उल्टो खोपडी देखेर अनौठो भाव व्यक्त गरेको मात्र हो । जति कमिक गर्न चाहनुहुन्छ गर्नुस् तपाईलाई स्वतन्त्रता छ तर तपाईको कमिक एउटा जोकरले देखाको जोकिङ बाहेक केही होईन । ”



प्रतिक्रिया दिनुहोस !