४ आश्विन २०८१, शुक्रबार

प्रचण्डले पूर्वमाओवादीभित्रका इमान्दार कार्यकर्तालाई प्रयोग मात्रै गरे : मन्त्री थापा

प्रकाशित मिति :  17 January, 2021 3:43 pm


फाईल फोटो

प्यूठान । खानेपानी मन्त्री मणी थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीभित्रका इमान्दार कार्यकर्तालाई प्रयोग मात्रै गरेको गुनासो गरेका छन् ।

प्यूठानको बिजुवारमा कार्यकर्ता बेलालाई आज सम्बोधन गर्दै थापाले विगतमा बैद्य देखि विप्लवसम्मलाई प्रयोग मात्रै गरेको टिप्पणी गरेका हुन् ।

अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी सदस्य समेत रहेका थापाले भने “आज हेर्नुस त हामी छैनौं, बैद्य जी हुनहुन्न, विप्लव जी हुनुहुन्न, बाबुराम जीले छोड्नु भयो । उहाँले विगतमा माओवादी भित्रका इमान्दार नेताहरुलाई प्रयोग मात्रै गर्नुभयो । इमान्दार साथीहरुलाइृ उपयोग गर्नुभयो । उहाँहरुको चेतनालाई बुझ्न सक्नुभएन र पार्टी फुटाउँदै लानुभयो ।”

अहिलेपनि प्रचण्डले नेकपा फुटाएको थापाको भनाई थियो । आफूहरुले ओलीसँग मिलेर जान पटक पटक सुझाव दिएपनि नमानेको थापाको भनाई थियो ।

प्रचण्डले नेकपाको नेतृत्वको दाबी गरेपनि विगतका कस्तो पार्टी चलाए सबै जानकार भएको उनले टिप्पणी गरे ।

केपी ओलीले प्रचण्डलाई साथ लिएर नेपालको राजनीतिलाई नयाँ कोर्शमा लैजान खोज्दा अवरोध भएको र त्यसकारण पार्टी फुटेको मन्त्री थापाले दाबी गरे । केपी ओलीले भारत र चीनसँग आर्थिक भन्दा पनि सभ्यताको सम्बन्ध कायम गर्न खोजको बताए ।

उनले भने,”ओली जी भारतसँग होस चीनसँग आर्थिक मात्रै भन्दा पनि सभ्यताको सम्बन्ध जोड्न चाहनुहुन्छ । यो कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मात्रै बुझेका छन् र केपी ओलीले उनलाई चिनेका छन् ।”



प्रतिक्रिया दिनुहोस !