४ आश्विन २०८१, शुक्रबार

वर्षमान पुनको ‘फरक भाषण’

प्रकाशित मिति :  17 January, 2021 5:15 pm


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड-नेपाल र ओली समूह देशव्यापी अभियानमा छन् । अहिले देशैभर दुबै पक्षले आफू पक्षीय कार्यकर्ता भेला चलाईरहेका छन् ।

यतिबेला प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल,प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको टोली मध्यपश्चिमको यात्रामा छ । साथमा छन् स्थायी कमिटी सदस्य वर्षमान पुन । जिल्लामा कार्यकर्तालाई सम्बोधन गरिरहँदा उनले एउटा प्रसँग छुटाएका छैनन् । त्यो हो आफ्नै नेतृत्व अर्थात अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमाथि खबरदारी ।

दाङ,बर्दिया हुँदै बाँकेसम्म पुग्दा नेता पुनले ओलीको आलोचना त गरेकै छन् साथै एउटा समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल माथि प्रश्न गर्न छोडेका छैनन् ।

आज बर्दियाको गुलरियामा भएको कार्यकर्ता सम्बोधन गर्दै नेता पुनले भने,“हामीले पनि अध्यक्ष कमरेडहरु(प्रचण्ड-नेपाल)लाई,नेताहरुलाई प्रश्न गरेका छौं र खबरदारी पनि गरेका छौं । आज विचारमा आधारित, राजनीतिमा अधारित, प्रवृतिमा आधारित कार्यशैली लिएर उहाँहरु एक ठाउँ बस्नुभएको छ । उहाँहरुबीच ४० वर्षको सहकार्य रहेको छ । सहकार्य गरिराख्नुभएको छ । आज पार्टी अध्यक्षहरुलाई प्रश्न छ के भने तपाईंहरु फेरि जनताको अभिमत पाएर केपी ओली जस्तै हुने हो कि ?”

यही प्रसंग उनले हिजो दाङ कार्यकर्ता भेलामा पनि उठाएका थिए । बर्दियापछि आजै बाँकेमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भनेका छन्, “ओलीले झै स्वेच्छाचारी ढंगले चलाउने, ओली विरुद्ध लड्दा एकै ठाउँमा बस्ने र भोलीका दिनहरुमा अध्यक्षहरु सँगै बस्नुहुन्छ ? भन्ने प्रश्नहरु छन् । विचार,सिद्धान्त र प्रवृतिका हिसाबले पनि बस्नुहुनेछ भन्ने विश्वास छ ।”

उनले कम्युनिष्ट आन्दोलन बचाउन अहिले निस्वार्थ भावले सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गर्छन र लगत्तै आफ्नै नेतृत्वमा प्रश्न उठेको भन्दै आफ्ना भनाईहरु राख्ने गरेका छन् ।

अहिले नेकपाको एउटा समूहको नेतृत्व गरिरहेका प्रचण्ड र नेपालले एक अर्काको प्रशंसा गरिरहेका छन् । विगतदेखि आफूहरुको सहकार्य भएको र ओली प्रवृति पराजित गर्न एक ठाउँमा आएको बताईरहेका छन् । यसैक्रममा पुनले प्रचण्ड र नेपालमाथि प्रश्न गरिरहेका छन् ।

जनताको छोरा छोरी कम्युनिष्ट पार्टीमा जोडिने परिस्थिति बनाउनुपर्नेमा नेता पुनको जोड दिएका छन् । केपी ओलीले डिएनए, खकार रागत, थुक परिक्षण गर्ने र मात्रै आफ्नो गुट मिले मात्रै अवसर दिने गरेको भन्दै अब रगत, पसिना, विचार,राजनीतिक आधारित, पार्टी बहुसंखा श्रमजीवीको पार्टी एउटा मूल प्रवाह बनाउनुपर्नेमा जोड दिने गरेका छन् ।

अहिले प्रचण्ड-नेपाल समूहका नेता प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका बेला पुन भने आफ्नै नेतृत्वमाथि पनि प्रश्न सोधिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !