सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसान फेरि आन्दोलित
काठमाडौं । सर्लाहीका उखु किसान फेरी आन्दोलित भएका छन् । सरकारसँग सम्झौता अनुसारको रकम नपाएको भन्द उखु किसान फेरि आन्दोलित भएका हुन् ।
उखु किसान संघर्ष समिति र सरकारबीच २१ दिन भित्र वक्यौता रकम उपलब्ध गराउने सहमति भएको थियो । तर किसानले अहिलेसम्म रकम पाउन नसकेको बताएका छन् ।
किसानहरुले माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कोला पट्टी बाँधेर खेतमा काम गर्ने र १५ गतेदेखि फागुन २१गतेसम्म एक छाक भोकै बसेर खेतमा काम गर्ने घोषणा गरेका छन् ।
यति गर्दापनि माग सुनुवाई नगरे तेस्रो चरणको आन्दालन घोषणा गर्ने उनीहरुको भनाई छ ।
उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ राय, सचिव हरिश्याम राय र कृषक राम विकास पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “किसानले भुक्तानी पाउनुपर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खाता मार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवं स प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म हाम्रो न्यायिक संघर्षको आन्दोलन जारी रहने छ । ”
उद्योग मन्त्रालयले मौखिक पमा गराएको जानकारी अनुसार ६५ करोड रुपैयाँ कबुल गरेको मध्य ५७ करोड भुक्तानी गइसकेको र बाँकी ८ करोड रुपैयाँ रकमपनि उद्योग मन्त्रालयको निर्णयमा आइसकेको भनिएको छ । तर उखु संघर्ष किसान संघर्ष समिति सर्लाहीले उद्योग मन्त्रालयको सम्झौतामा उल्लेख भएको समयसीमा समाप्त भइसकेको तर हामलसम्म पनि उखु किसानहरुको सम्पूर्ण रकम भुक्तानी गराउन नसकेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,“ हालसम्म मन्त्रालयले कुन किसानहरुले कति रकम उद्योगीबाट भुक्तानी पाउनुपर्ने र कति रकम भुक्तानी पाइसकेको किसानहरुको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन सकेको छैन । सो को विवरण सार्वजनिक नगराई दिँदा मन्त्रालयले दिएको मौखिक सूचनाबाट सन्देह, शंका तथा उपशंका उब्जिएको छ ।”