४ आश्विन २०८१, शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमले पूर्णता पायो

प्रकाशित मिति :  22 January, 2021 9:41 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको पुँजी बजार फोरमले पूर्णता पाएको छ । सेयर बजारका अग्रणी लगानीकर्ता मानिएका अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा आज १३ सदस्यीय कार्यसमिति गठन गरिएसँगै यसले पूर्णता पाएको हो ।

पौडेल महासंघमा निर्वाचित एसोसिएट सदस्य हुन् । जस अनुसार २ जना सल्लाहकार र २ जना आमन्त्रित सदस्यसहित १३ जनाको कार्यसमिति बनाइएको छ । रामशरण थपलियालाई उपसभापति बनाइएको छ ।

सदस्यहरुमा मेखबहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णुप्रसाद बस्याल रहेका छन् । आमन्त्रित सदस्यहरुमा अनन्तकुमार पौडेल र उषा खतिवडालाई ल्याइएको छ । सल्लाहकारहरुमा कुमारकेशर बिष्ट र ध्रुर्व तिमिल्सिना रहेका छन् ।

कार्यसमितिको पहिलो बैठकले विभिन्न महत्वपूर्ण १० बुँदे निर्णयहरु पनि गरेको छ । पुँजी बजारको समग्र विकास गर्ने उद्देश्य राखिएको छ । पुँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी अघि बढ्ने भनिएको छ । यस्तै, पुँजी बजारमा वैदेशिक लगानी भित्रयाउन पहल गर्ने निर्णय भएको छ ।

यस्तै, पुँजी बजारसँग सम्बन्धित ऐन कानुनमा समसामयिक सुधारका लागि सुझाव दिने, लगानीकर्ताहरुलाई आवश्यक तथा भरपर्दो सूचनाहरु उपलब्ध गराउनका लागि आवश्यक काम गर्ने निर्णय पनि गरिएको छ ।

मर्चेन्ट बैंकिङ तथा ब्रोकरेज व्यवसायको कार्यक्षेत्र विस्तार र संख्या थप गर्नका लागि पहल गर्ने निर्णय गरिएको छ । सेयर कारोबारमा विद्यमान लाभ कर अन्योलको विषय निराकरण तथा समय सापेक्ष सुधारका लागि पहल गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा आकर्षित गरी लगानीका क्षेत्रलाई अझै फराकिलो बनाउन पहल गर्ने निर्णय पनि गरिएको छ ।

लगानीकर्ताहरुका लागि भरपर्दो र सबल व्यवसायका रुपमा यो क्षेत्रलाई स्थापित गर्न पहल गर्ने, प्रविधि र पँहुचको हिसाबले बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सम्बन्धित निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने विषयमा बैठकमा पर्याप्त छलफल गरिएको जानकारी दिइएको छ ।

पुँजी बजारमा लगानीका लागि अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका वैकल्पिक औजारहरु इक्यूटी डेरिभेटिभ, सर्ट सेलिङ, इन्डेक्स फण्ड, इन्डेक्स डेरिभेटिभ लगायतका उपकरण नेपाली बजारमा पनि प्रयोगमा ल्याउनका लागि सक्दो पहल गर्ने निर्णय समेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !