४ आश्विन २०८१, शुक्रबार

कानून मिचेर फैसला गर्दा न्यायाधीसहरूलाई जनताले लतारेर सडकमा लगेको सुनेको छु : नेता पुन

प्रकाशित मिति :  23 January, 2021 7:08 pm


रोल्पा । नेपाल कम्युनिष्ट (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले स्वेच्छाचारी ढंगले कानून मिचेर फैसला गर्दा जनताले सडकमा घिसारेको कुरा आफूले सुनेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

रोल्पाको होलेरीमा आज भएको विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले भने,“प्रधानन्यायाधीस न्यायाधीस लगायतलाई दमननाथ ढुंगाना(पूर्वसभामुख)ले भन्दै हुनुहुन्थ्यो, कतिपय देशमा स्वेच्छाचारी ढंगले कानून मिचेर फैसला गर्दा न्यायाधीसहरुलाई जनताले लतारेर सडकमा लगेका छन्, घिसारेका छन् । माननीय ज्यूहरू, श्रीमानहरु सडकमा जनताले घिसार्ने अवस्था नआसोस भनेर एक ठाउँमा बोल्नु भा‘छ । यो मेरो भाष होईन मेरो शब्द होईन ।”

अहिले प्रधानमन्त्री केपी शर्मा ओली र उनी निटकमा मान्छेले निर्वाचन आयोग र अदालतमा सेटिङ भएको भन्ने गरेको भन्दै उनले भने,“ न्यायालयले कानूनसम्मत वा संविधान सम्मत निर्णय गर्छ,त्यसैले जनताको विश्वास हुन्छ , जनताको आस्था हुन्छ र सरकारले अन्याय गर्‍यो व्यक्तिले अन्याय गर्‍यो , कुनै संस्थाले अन्याय गर्‍यो भने अन्तिममा जाने ठाउँ न्यायालय हो भनेर मान्छेले विश्वास गर्छ । कानुन हेरेर विधि हेरेर प्रमाण हेरेर फैसला दिन्छ न्याय गर्छ तर आज केपी ओली र उनका मान्छेले भनेजस्तै सेटिङमा फैसला भयो भने के स्वतन्त्र न्यायलय रहन्छ ? रहदैन ।”

प्रधानमन्त्री निकटका मान्छेहरुले सर्वोच्च अदालतमा सेटिङ छ हामीलाई नै जिताउने हो, निर्वाचन अयोगमा सेटिङ छ चुनाव चिन्ह हामी पाउँछौ भन्दै हिँडेको भन्दै नेता पुनले आपत्ति जनाए । उनले भने,“ म यहाँ प्रश्न गर्न चाहन्छु के यो हामीले ल्याएको लोकतन्त्र गणतन्त्र , यो संघीयता यो व्यवस्था यो सबै सेटिङमा चल्ने व्यवस्था हो ।”

उनले प्रधानमन्त्रीको कमजोरी र गलत कृयाकलाप ढाकछोप गरेको भन्दै आपत्ति समेत जनाए । उनले यस्तो कार्य राजनीतिक नैतिकताले कसरी मिल्छ भन्दै प्रश्न गरे ।

उनले भने,“ एउटा अविभावकको रुपमा निर्वाचित गरेको जनताको छोरा वा जनताको छोरा राष्ट्रपतिको रुपमा बस्ने , प्रधानमन्त्रीका गल्तिहरु, अपराधहरु छोप्ने संस्था हो ? त्यो रुपले सेटिङ गर्न मिल्छ संविधानले ? राजनीतिक नैतिकताले मिल्छ भन्दा मिल्दैन ।”

अहिले प्रतिनिधि सभा विघटनको चौतर्फि विरोध भएको भन्दै नेता पुनले प्रधानमन्त्री ओलीले एक पटक आफूलाई फर्केर हेर्नुपर्ने र कदम सच्याउनुपर्नेमा जोड   दिए ।

 



प्रतिक्रिया दिनुहोस !