२२ आश्विन २०८१, मंगलबार

खानेपानी मन्त्री थापाद्धारा मेलम्ची खानेपानीको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण

प्रकाशित मिति :  24 January, 2021 5:45 pm


काठमाडौं । खानेपानी मन्त्री मणि थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि ९ किलोमिटर भित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए। मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिएका थिए।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परीक्षणअघि विज्ञ समूहलाई निरीक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको जानकारी दिए ।

सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाइ परीक्षणको काम शुरु गरिने कार्यकारी निर्देशक खत्रीले बताए । मन्त्री थापाले मेलम्चीको पानी खाने राजधानीबासीको धोको पुरा गर्नु आफ्नो लक्ष्य रहेको बाँकी कामहरु चाँडै सक्न निर्देशन दिए ।

खत्रीले बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम शुरु गर्न सकिने बताएका छन्। यस्तै सुरुङको निरीक्षण लगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरीक्षण गरेका थिए।

सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुई वटा प्रशोधन केन्द्र रहेका छन्। प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन ८.५ करोड लिटर रहेको छ।



प्रतिक्रिया दिनुहोस !