४ आश्विन २०८१, शुक्रबार

भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  26 January, 2021 3:15 pm


काठमाडौ  । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।

६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून विजकिकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।

निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुई मध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने उनको भनाई छ । उनले भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अवाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्न समेत माग गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए ।

भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । यस्तै भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत माग गरे ।



प्रतिक्रिया दिनुहोस !