२२ आश्विन २०८१, मंगलबार

लुम्बिनी बौद्ध विश्वविद्यालय सभाका सदस्य प्रा.डा. लक्सम्बाको बेलायतमा निधन

प्रकाशित मिति :  27 January, 2021 9:31 am


काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाका सदस्य प्रा.डा. चन्द्र लक्सम्बाको बेलायतमा उपचारका क्रममा निधन भएको छ । उनको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका लक्सम्बा उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको हो । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयदेखि उनी बेलायत बस्दै आएका थिए । नेपालमा समेत उनी सकृय थिए ।

कोरोना सङ्क्रमण भई यही माघ ५ गतेदेखि अस्पतालमा उपचार भइरहेकै अवस्थामा अचानक मस्तिष्काघात भएपछि उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

उच्च रक्तस्राब भएका कारण शल्यक्रिया गर्न नसकिने र बचाउने अन्य कुनै उपाय नरहेपछि अस्पतालले परिवारलाई भेट्न बोलाएको थियो । परिवारका अन्य सदस्यहरूलाई समेत कोरोना देखिएका कारण अस्पताल भर्नापछि परिवारका कसैलाई पनि अस्पताल प्रशासनले भेट्न अनुमति दिएको थिएन ।

गोर्खा सैनिकबाट अवकास भएपछि करीब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गर्नुभएका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरुको गणना परियोजनाको संयोजकका रूपमा काम गर्नुभएको थियो ।

पछिल्लो समय यहाँ बेलायतको स्थायी बसाइ टुङ्ग्याई नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका उनी केही समयअघि मात्र श्रीमती र छोराबुहारीलाई भेट्न बेलायत पुगेका थिए ।

राजनीतिकरूपमा पनि सक्रिय डा लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित भएका थिए । त्यसपश्चात् ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्ष सेवा गरी अवकास भएका थिए ।

उनलाई नेपाल सरकारले गत वर्ष मात्रै लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा पनि नियुक्त गरेको थियो । स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा छन् । रासस



प्रतिक्रिया दिनुहोस !