४ आश्विन २०८१, शुक्रबार

बामदेवद्धारा नेकपा एकता अभियानको घोषणा,निर्वाचनमा सहभागितादेखि सरकार सञ्चालनसम्मको परिकल्पना

प्रकाशित मिति :  27 January, 2021 1:57 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकता अभियानको घोषणा गरेका छन् । ललितपुरमा आज भेलाको आयोजना गरेर  गौतमले अभियानको घोषणा गरेका हुन् ।

पुस ५ गते प्रतिनिधि सभा घोषणापछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतत्व प्रधानमन्त्री केपी शर्मा ओली र अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् । तर उपाध्यक्ष गौतम भने अहिलेपनि पार्टी विभाजित हुन नहुँने अडान राख्दै एकता अभियान सञ्चालन गरेका हुन् ।

अवधारणा सार्वजनिक गर्दै गौतमले आफ्नो योजना दुई चरणमा सञ्चालन गर्ने निर्णय गरेका छन् । पहिलो चरण सर्वोच्च अदालतको निर्णय नआउँदासम्म र दोस्रो चरण सर्वोच्च अदालतको निर्णय आएपछि भनिएको छ । गौतमको अवधारणा अनुसार दुबै चरणमा एकीकरणका विभिन्न विकल्पहरुमा छलफल गरिने भनिएको छ ।

उनको अवधारणा पत्रमा भनिएको छ,“प्रतिनिधिसभा पुनस्र्थापना भएमा वा निर्वाचन भएमा दुबै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिने छ । यसलाई व्यवस्थित गर्न बराबर संख्याका समन्वय समितिहरु विभिन्न तहमा निर्माण गरिने छन् ।”

प्रतिनिधि सभा पुर्नस्थापनापछि पनि पार्टी एकीकरण हुन नसकेमा हाम्रो पार्टी एकता अभियान निर्वाचन काल र त्यसपछि पनि निरन्तर जारी रहने गौतमले उल्लेख गरेका छन् ।

फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक प्रयत्न गरिने भन्दै गौतमले भनेका छन्,“तब पनि पार्टी एकीकरण हुनसकेन भने एकता राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठकबाट कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय गरिनेछ ।”

पार्टीको सिद्धान्त, राजनीतिक कार्यदिशा, तात्कालिक कार्यनीति, विदेश मामिला, सामाजिक आर्थिक रुपान्तरणको दिशा तथा लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा समाजवाद निर्माण गर्ने लक्ष्यमा कुनै मतभिन्नता नहुँदा नहुँदै पनि नेकपाको यो विभाजन हुन पगुको गौतमको निष्कर्ष छ ।

उनले भनेका छन्,“व्यक्तिवादी कार्यशैली व्यक्तिगत स्वार्थका कारण विकसित हुन्छ । यस्ता कार्यशैलीबाट उत्पन्न अन्तरविरोध आलोचना आत्मालोचनाबाट समाधान गर्न सकिन्छ । कहिलेकाहीँ सही तरिकाले आलोचना गर्न नसक्दा र आलोचनालाई मित्रतापूर्ण रुपमा लिन नसक्दा पनि अन्तरविरोधमा जटिलता देखिन सक्छ । यस पटक पार्टीमा यो अन्तरविरोध यसकै कारण पनि देखापरेको हो ।”

जस्तासुकै व्यक्तिगत स्वार्थलाई बलिदान दिएर भए पनि पार्टीको पुर्नएकीकरण गर्नु पर्ने र पार्टी एकतालाई जोगाउनुपर्नेमा गौतमको जोड छ ।

उनको अवधारणा पत्रमा भनिएको छ,“दुबैतिर लाग्नु भएका मुख्य नेतासहितका कमरेडहरुलाई आह्वान गर्छौ कि तपाइहरुको, हाम्रो र करोडौं नेपाली जनताको उज्वल भविष्यसंग सम्बन्धित बनेको हाम्रो पार्टीको एकतालाई जोगाउन हर किसिमका पर्यत्न गर्न हामी तयार होऔं ।”



प्रतिक्रिया दिनुहोस !