५ आश्विन २०८१, शनिबार

कोभिड-१९ खोप अभियान अन्तर्गत पहिलो दिन ९,०८४ व्यक्तिले खोप लगाए

प्रकाशित मिति :  27 January, 2021 6:41 pm


दाङमा कोरोना खोप लगाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोजोलिष्ट डा.बोम बि.सी.

काठमाडौं । कोभिड-१९ खोप अभियान अन्तर्गत आज पहिलो दिन ९,०८४ व्यक्तिहरुले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४ जिल्लाका ९३ खोपकेन्द्रहरुमार्फत ९०८४ व्यक्तिहरुले खोप लगाएका हुन् । जसमध्य प्रदेश १ मा १२५५,प्रदेश नं. २ मा ७२६,बागमतीमा २६९४, गण्डकीमा १८४३,लुम्बिनीमा ७३३ कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप लिएका हुन् ।

सरकारले आजदेखि खोप अभियान सुरु गरेको थियो । खोप अभियानका क्रममा काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल,पाटन अस्पताल र प्रसुती गृह अस्पतालमा रहेका खोप केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री,स्वास्थ्य तथा जनसंख्या सचिव तथा उच्च अधिकारीहरुले स्थलगत भ्रमण गरेर खोप सञ्चालनको अनुगमन गरेका थिए ।

त्यस्तै स्वास्थ्य मन्त्री ह्रदयश त्रिपाठीसहित मन्त्रालयका उच्च अधिकारीहरुले वीर अस्पताल,सिभिल अस्पताल,टेकु अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा रहेका खोप केन्द्रहरुमा अनुगमन गरेका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“खोप अभियानमा सबैको सकृय सहभागिता र तोकिएको समयभित्र पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई हार्दिक आव्हान गर्दछ ।”

नेपालमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्य सेवामा खटिएका सरसफाइकर्मीलाइ खोप लगाउन शुरु गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भर्चुअल कार्यक्रमबाट खोप अभियान शुरु गरेका हुन् । कार्यक्रमको शुभारम्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश बाचन गरेका थिए ।

पहिलो चरणको यो अभियान १० दिनसम्म सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !