२३ भाद्र २०८१, आइतबार

काठमाडौंमा बर्ड फ्लू पुष्टि

प्रकाशित मिति :  30 January, 2021 4:00 pm


फाइल तस्बिर

काठमाडौं ।  नेपालमा बर्ड फ्लू रोग पुष्टि भएको छ ।

परीक्षणका क्रममा काठमाडौंमा हिजो बर्ड फ्लू पुष्टि भएको हो । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, पशु सेवा विभागले विज्ञप्ति जारी गर्दै काठमाडौको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला,फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्ड फ्लु पुष्टि भएकोे जनाएको छ ।

बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस,६२२ बटई,३२ कुखुरा,२५ टर्की,५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण आज निसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले उल्लेख गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै रोग भित्रन नदिने सम्पूर्ण सतर्कता अपनाइएको उल्लेख गरेको छ । विगत एक महिनाददेखि भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएको थियो ।

विभागले पंंक्षी तथा पंछीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न गराउन,फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न गराउन, सम्पूर्ण पंक्षीपालक कृषकहरुको फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

त्यस्तै कुनै पंक्षी फार्म वा अन्य पंक्षीपालन वा विक्रिस्थलमा अस्वभाविक रुपमा पंक्षी विरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन आग्रह गरेको छ ।

विभागले देशमा रोग भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणमा सबै निकायलाई सतर्क अवस्थामा पनि राखिएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !