४ आश्विन २०८१, शुक्रबार

प्रचण्डलाई ओलीको प्रश्न : रामजन्मभूमि, अयोध्यापुरीमा मन्दिर बनाउने कुरा चुइक्क बोल्न किन सक्नुहुन्न ?

प्रकाशित मिति :  30 January, 2021 5:45 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नक्कली राष्ट्रवादी भएकोे टिप्पणी गरेको छन् ।

चितवनको भरतपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै निर्वाचन क्षेत्रमा भएको रामजन्मभूमिबारे बोल्न नसकेको आरोप लगाए ।

उनले भने,”यै जिल्लाबाट छानिएका, यै निर्वाचन क्षेत्रबाट छानिएका सांसद(पुष्पकमल दाहाल ‘प्रचण्ड’) रामजन्मभूमि, अयोध्यापुरीमा मन्दिर बनाउने कुरा चुइक्क बोल्न किन सक्नुहुन्न ? कसका डरले ? कसका डरले बोल्न सक्नुहुन्न उहाँ राम अयोध्यापुरीमा जन्मिएका भन्न ? बडा सक्कली राष्ट्रवादी बनेर हिड्नुभएको छ त । तर मयुरको प्वाख लाउँदैमा मयुर हुँदैन ।”

प्रधानमन्त्री ओलीले रामको भब्य प्रतिममूर्ति तयार भइसकेको र सीताको बनिरहेको जानकारी गराए ।

उनले भने, “अयोध्यापुरीको गुरुयोजना तयार हुँदैछ । रामको भव्य प्रतिमूर्ति तयार भइसक्या छ । सीताको बनिरहेको छ । अब लक्ष्मण र हनुमानको पनि बन्छ । अर्को सालको राम नवमीमा हामी रामजन्मभूमी अयोध्यापुरीमा भव्य ढंगले प्राण प्रतिष्ठा गर्ने छौं ।”

उनले चितवनको अयोध्यापुरी अब विश्वका हिन्दूहरुको , विश्वका संस्कृतिविदहरुको, विश्वका पुरातत्वविदहरुको, विश्वका सभ्यताविदहरुको गन्तब्य स्थान हुने दाबी गरे ।

गत असारमा प्रधानमन्त्री ओलीले भनुजयन्तीको अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले  भगवान रामको जन्मस्थल नेपालमा भएको बताएका थिए ।

चितवनको माडी नगरपालिका–९ मा रहेकोे अयोध्यापुरीमा रामको जन्मस्थान रहेको भन्दै सरकारले गुरुयोजना समेत बनाउन सुरु गरेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतले असन्तुष्टि जनाएको थियो । यो क्षेत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्रमा पर्छ ।



प्रतिक्रिया दिनुहोस !