२३ भाद्र २०८१, आइतबार

सरकार किसानलाई पलायन,विदेशी कम्पनीलाई कृषिमा राइँदाइँ गर्न दिने खेलमा छ : प्रचण्ड

प्रकाशित मिति :  31 January, 2021 3:48 pm


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा विदेशी लगानी भित्र्याउने बाटो खोलेर सरकारले  किसानमाथि प्रहार गरेको टिप्पणी गरेका छन् ।

नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघको आफू पक्षीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटनपछि ओली सरकार किसानलाई गरिब र असहाय बनाउनेतर्फ उद्दत रहेको आरोप लगाए ।

“प्रतिगमनकारी कदम चालिसकेपछि विदेशी कम्पनीलाई कृषिमा लगानी गर्न दिने, विदेशीलाई राँइदाइँ गर्न दिने र नेपाली किसानहरुलाई अझ बढी गरिब, अझ बढी असाहय बनाउने र विदेशतिर लखेट्ने खेल सुरु भएको छ,” प्रचण्डले भने ।

किसानहरुलाई सरकारको कदमले हुन जाने हानीका विषयमा बुझाउन जरुरी रहेको उनले बताए ।

“कृषि क्षेत्रमाथि नै वैदेशिक एकाधिकार पूँजीवादलाई ल्याउन खोज्ने, विदेशी दलालहरुलाई ल्याउन खोज्ने केपी ओलीको राष्ट्र विरोधी, कृषि विरोधी, किसान विरोधी नीति आएको छ,” प्रचण्डले थपे ।

किसान महासंघका नेताको नेतृत्वमा सरकारको नीति विरोधमा लाग्न प्रचण्डले निर्देशन दिएका छन् । उनले महासंघलाई सरकारले किसानलाई कसरी मार्न खोजेको छ भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहसम्म पुगेर किसानलाई जानकारी गराउन भनेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !