२२ आश्विन २०८१, मंगलबार

रोल्पामा एम्बुलेन्स चालक छनौटमा विवाद, ट्राफिक इन्चार्जको भूमिकामा समेत प्रश्न

प्रकाशित मिति :  31 January, 2021 5:03 pm


काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकाले सीप परीक्षणका क्रममा कमजोर  देखिएका व्यक्तिलाई एम्बुलेन्स चालकका रुपमा छनोट गरेको भन्दै विवाद भएको   छ ।

उमेद्वारी दिएका प्रतिस्प्रधामा सहभागि चालकहरू मिलेर जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका हुन् । गाउँपालिकाले पुस १४ गते करारमा एम्बुलेन्स चालकको पदपूर्तिका लागि सूचना निकालेको थियो । सूचना निकालिएपछि ५ जनाले उमेद्वारी दिएका थिए ।

छनौटका लागि ट्राफिक प्रहरी सहायक निरीक्षक हरिबहादुर के.सी.को नेतृत्वमा परीक्षा भएको थियो । तर परीक्षा निष्पक्ष नभएको भन्दै उमेद्वार रहेका ४ जना  चालक लेखनाथ खत्री, लेशमान विष्ट,राजकुमार विष्ट र विरेन्द्र बुढाथोकीले उजुरी दिएका हुन् ।

उजुरीमा ट्रायल दिने क्रममा चिठ्ठा स्वतन्त्र रुपमा टिप्न पाउनुपर्नेमा ट्रापिक प्रहरी इन्चार्ज के.सी.ले नै चिठ्ठा वितरण गरेको,ट्रायल दिने क्रममा एम्बुलेन्स चालक उमेद्वारलाई प्रशिक्षण दिँदै गर्दा एल र टि बनाउनुपर्छ नभनेर अन्तिममा मात्रै बनाउन लगाइएको दाबी गरिएको छ ।

उजुरीमा,“अन्तरवार्ता दिने क्रममा दर्ता नं.बाट बोलाइएको र यसमा पनि निष्पक्ष छैन किनकी सोही परीक्षार्थीलाई ट्रायलमा पछाडी र अन्तरवार्तामा अगाडि बोलाईयो” भनिएको छ ।

संयुक्त उजुरी भनिएको छ,“ जिल्ला प्रहरी कार्यलय लिवाङबाट जिल्ला ट्राफिक इन्चार्ज प्र.स.नि.हरि बहादुर के.सी.को कमाण्डमा गई ५ जना उम्मेदवारलाई सूचनामा प्रकाशित न्यूनतम योग्यता भएका उम्मेदवारलाई नियम अनुसार सिप परिक्षण गर्नु पर्नेमा जन प्रतिनिधी कर्मचारीको मिलेमहतोमा नियम अनुसार नभई एकलौटी तरिकाबाट आफ्नो मान्छको रातको १०ः०० वजेको समयमा नाम निकाली पक्षपात तरिकाले काम गरेको कारण उक्त सिप परीक्षणको नियम अनुसार नभएको हुँदा र लिखित परिक्षा दिनु पर्नेमा उक्त परिक्षा पनि नलिएको कारण मिति २०७७। १०।०६ गते लिएको सिप परीक्षण रद्ध गरिपाउँ भनि संयुक्त रुपमा निवेदन लेखि पेश गर्दछौं ।”

उकालोमा गाडी अगाडी बढाउँदा गाडी ब्याक भएको र घुम्तीमा इन्डिकेटर नबालेको व्यक्तिलाई गाउँपालिकाले छनौट गरेको उजुरीपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !