४ आश्विन २०८१, शुक्रबार

ओलीलाई साधारण सदस्यबाट समेत हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय,पार्टी आधिकारिकताको दाबी गर्ने

प्रकाशित मिति :  1 February, 2021 3:58 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, “पार्टीको विभाजन बामोजिम चौथो बैठकले यसअघि बसेको स्यायी कमिटिको प्रस्तावलाई केपी शर्मा ओलीलाई साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको छ ।”

प्रचण्ड-नेपाल समूहको माघ ११ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आज बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।

प्रचण्ड-नेपाल समूहको आज काठमाडौं कार्की ब्याङ्केटमा बैठक बसेको थियो ।  बैठकले पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन अयोगलाई पत्र लेख्न निर्णय समेत गरेको छ ।

प्रवक्ता श्रेष्ठले भने,”हाम्रो पार्टीले विधान अनुसार बैठक गरेर पदाधिकारी फेरबदल गरिएको निर्णयसहित अध्यावधिक गर्न भनेकोमा त्यसबारे जुन पत्र निर्वाचन आयोगले हाम्रो पार्टीलाई पठाएको छ । त्यस सन्दर्भमा पार्टीको लिखित जवाफसहित पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन अयोगलाई पत्र लेख्ने बैठकले निर्णय गरेको छ ।”

यसअघि निवेदन अनुसार निर्वाचन आयोगले पार्टी विभाजनको मान्यता नदिएपछि प्रचण्ड नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । बैठकले म्यानमारमा भएको सैन्य कू को पनि विरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !