४ आश्विन २०८१, शुक्रबार

भारतले नेपाललाई दिने अनुदान झण्डै १३ प्रतिशतले बढायो

प्रकाशित मिति :  1 February, 2021 4:21 pm


काठमाडौं ।  भारतले नेपाललाई दिने अनुदानमा झण्डै १३ प्रतिशतले बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणद्वारा आज प्रस्तुत आर्थिक वर्ष सन् २०२१/२२ को वार्षिक बजेटमा नेपालसहित १५ भन्दा धेरै मुलुकलाई दिइने अनुदान रकम बढाइएको हो ।

बजेटमा गरिएको प्रस्तावअनुसार आर्थिक वर्ष सन् २०२१/२२ मा नेपाललाई ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रूपैयाँ) अनुदान उपलब्ध गराइने छ । यो गत वर्षको बजेटमा प्रस्तावितभन्दा १ अर्ब ९२ करोड भारु बढी हो भने बीचमा संशोधित अनुदानभन्दा १ अर्ब १२ करोड भारु बढी हो ।

गत आर्थिक वर्षमा नेपाललाई दिइने अनुदानमा ठूलो अनुपातले कटौती गरिएको थियो । आर्थिक वर्ष सन् २०१९/२० मा नेपाललाई ११ अर्ब ९८ करोड २६ लाख भारु अनुदान दिइएको थियो ।

गत आर्थिक वर्षको बजेटमा नेपालका लागि सुरुमा ८ अर्ब भारु अनुदान छुट्याइएकोमा बीचको मध्यावधि संशोधनबाट केही वृद्धि गरि ८ अर्ब ८० करोड भारु पुर्‍याइएको थियो ।

भारतले विभिन्न मुलुकलाई दिने अनुदान गत वर्षका बजेटका तुलनामा २।५ प्रतिशतले र बीचमा गरिएको पुनरावलोकनका तुलनामा ३२.६५ प्रतिशतले बढाएर ७६ अर्ब ३५ करोड पुर्‍याइएको छ ।



प्रतिक्रिया दिनुहोस !