४ आश्विन २०८१, शुक्रबार

बुटवलमा पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु 

प्रकाशित मिति :  2 February, 2021 6:38 pm


रुपन्देही । रुपन्देहीको बुटवलमा पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल) ले आजदेखि पर्यटन सेवा सञ्चालकहरूका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो ।

बुटवलमा सुरु भएको तालिममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य छ । टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका साीइओ सुरेश सिंह बुडालले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दाङ, बाँके, सुर्खेत, र कैलाली गरी यहि फागुन १ गते धनगढीमा सम्पन्न हुनेछ ।

नमुनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिकामा पाँच जना प्रशिक्षक तैयार गरी उनीहरु मार्फत प्रत्येक नगरपालिकामा पर्यटनसंग सम्बन्ध राख्ने २ सय ५० जना स्थानीय साना तथा मझौला उद्यमीहरुलाई प्रशिक्षित गरिनेछ ।

अभियानको प्रारम्भिक योजना अनुुरुप पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक तथा व्यवसायीहरुलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी होटल टाइगर प्यालेसका महा प्रबन्धक लक्ष्मण थापाका अनुसार सरल तरिकाले पर्यटन र पर्यटकहरु लाई कसरी सजिलो र सुुरक्षित तरिकाले सेवा प्रदान गर्न सिकाइने छ ।



प्रतिक्रिया दिनुहोस !