२२ आश्विन २०८१, मंगलबार

गण्डकी प्रदेशमा साढे १६ हजार फ्रन्टलाइनरले पहिलो चरणको खोप लगाए

प्रकाशित मिति :  3 February, 2021 2:31 pm


काठमाडौं । गण्डकी प्रदेशमा साढे १६ हजार फ्रन्टलाइनरले पहिलो चरणको खोप लगाएका छन् । खोप अभियानको १ हप्तामा ११ जिल्लाका १६ हजार ५५१ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप लगाउने लक्ष्य राखेको छ । कास्कीका ६ हजार ९३६, लमजुङका १३ सय ६६, बागलुङका १३ सय ८४, नवलपुरका ८४७, स्याङ्जाका १४ सय ८५, तनहुँका १२ सय ८५, गोरखाका १ हजार ५०, पर्वतका ११ सय ३२, म्याग्दीका ७०९, मनाङका १६१ र मुस्ताङका १९६ जना फ्रन्टलाइनरले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

सुरुमा १८ माघसम्म खोप लगाउने तय गरिए पनि ५ दिन थपिएको छ । खोपबारे विभिन्न अफवाह फैलिए पनि फ्रन्टलाइनरको सहभागितालाई राम्रो मान्नुपर्ने प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए ।

‘यो संख्या धेरै राम्रो हो । अब ३ दिन छ । त्यतिबेलासम्म ९७ प्रतिशत पुग्छ,’ उनले भने । निर्देशक शर्माका अनुसार साढे १६ हजार जनालाई खोप लगाइए पनि सामान्यबाहेक ठूलो समस्या देखिएको छैन । ‘खोप लगाएपछि सामान्य समस्या हुन्छ । हामीकहाँ पनि केही साथीहरुलाई त्यस्तो भएको छ । गम्भीर समस्या कसैलाई भएन,’ उनले भने ।

खोप लगाएका कारण कुनै गम्भीर समस्या भएमा प्राथमिक उपचार जिल्ला अस्पतालमै गर्ने र गम्भीर भए पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचार सम्पर्क राख्न निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !