४ आश्विन २०८१, शुक्रबार

मोदी आएयता भारतको लोकतान्त्रिक चरित्र निरन्तर खस्किदै

प्रकाशित मिति :  3 February, 2021 3:55 pm


काठमाडौ । लोकतन्त्रको मापदण्डमा भारत दुई खुड्किलो ढलेर ५३औं स्थानमा झरेको छ ।

डेमोक्रेसी इन्डेक्सको विश्वव्यापी स्तर मापन २०२०मा भारतको लोकतान्त्रिक चरित्रमा कमी आएको छ ।

भारतमा नागरिक अधिकार कटौती हुँदै गएको यसबाट देखिएको हो । भारतको लोकतान्त्रिक चरित्रमा कमी आएपनि आफ्ना अधिकांश छिमेकीहरूको तुलनामा राम्रो रहेको त्यो प्रतिवेदनले जनाएको छ ।

दि इकोनोमिस्ट इन्टेलिजेन्स युनिट अनुसार भारतको स्कोर सन् २०१९मा ६.९ थियो भने घटेर ६.६१मा झरेको छ । यो विश्वभरका १६७ देशको लोकतान्त्रिक चरित्रको मापन गरी इन्डेक्स तयार गरिएको छ ।

भारतको लोकतान्त्रिक चरित्र प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेदेखि खस्किदै गएको देखिन्छ । सन् २०१४मा भारतको लोकतान्त्रिक इन्डेक्स ७.९२को शिखरमा थियो । यो शिखर झरेर सन् २०२०मा ६.६१मा झरेको छ ।सन् २०१४मा यसको स्थान २७औं थियो भने यो ढल्मलाउँदै ओरालो तर्फको ५३औं स्थानमा ढलेको छ ।

यो मापदण्डको आधारमा नर्वे शीर्षस्थानमा रहेको छ ।यसैगरी आइल्यान्ड, स्विडन, न्युजिल्यान्ड र क्यानाडा सकारात्मक तर्फको शीर्षस्थानमा रहेका छन । १६७ देशहरूमा २३ देश पूर्ण लोकतान्त्रिक वर्गीकरणमा परेका छन ।

त्यो भन्दा कम लोकतान्त्रिक चरित्र भएको वर्गीकरणमा ५२ देश, ३५ त्यो भन्दा कम हाइब्रिड शासन प्रणालीको रूपम र ५७ अधिनायकवादी शासन प्रणालीको वर्गीकरणमा देशहरू रहेका छन । भारत पूर्ण भन्दा कम लोकतान्त्रिक देशको रूपमा अमेरिका, फ्रान्स, बेल्जियम र ब्राजिल जस्ता देशहरूको समूहमा परेको छ ।

प्रतिवेदनका अनुसार भारत र थाइल्यान्डमा नागरिक अधिकारहरूको हनन बढ्दै गएको र अधिनायकवादी शैलीको देशमा पर्दै गएको छ । सन् २०१९मा भारत ५१औं स्थानमा थियो । भारतका छिमेकीहरूमा श्रीलंका ६८औं ,बंगलादेश ७६औं, भुटान ८४औं र पाकिस्तान १०५औं स्थानमा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !