५ आश्विन २०८१, शनिबार

नेपालमा आजसम्म १,५८,४८७ जनाले कोरोना विरुद्धको खोप लगाए

प्रकाशित मिति :  4 February, 2021 5:36 pm


फाइल फोटो

काठमाडौं । नेपालमा आजसम्म १,५८,४८७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बेलुकी ४ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै ७७ जिल्लामा २०१ खे खोप बुथबाट १,५८,४८७ जनाले खोप लगाएको बताएको छ ।

जसमा प्रदेश १ मा २१,७५४, प्रदेश २ मा २१,१८५, बागमती प्रदेशमा ५५,५०४, गण्डकीमा १७,२६७, लुम्बिनी प्रदेशमा २३,७९८ जनाले खोप लगाएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ८,०७२ र सुदूरपश्चिम प्रदेशमा १०,९०७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

पहिलो चरण अन्तर्गतको खोप अभियान माघ २४ गतेसम्म चल्ने छ । खोप सेवाबाट बञ्चित हुन नदिने नेपाल मेडिकल काउन्सील,नेपाल नर्सिङ काउन्सील, नेपाल स्वास्थ्यव्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सील र नेपाल फार्मेसी काउन्सीलको दर्ता प्रमाणपत्र र फोटो सहितको परिचय पत्र लिएर आएमा व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइएको   छ ।

माघ १४ गतेदेखि कोरोना विरुद्धको पहिलो खोप अभियान सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !