५ आश्विन २०८१, शनिबार

बीमा क्षेत्र अर्बपतिमा मात्रै होइन झुपडीमा बस्नेको पहुँचसम्म पुराउनुपर्छ : बीमा समिति अध्यक्ष सिलवाल

प्रकाशित मिति :  5 February, 2021 4:39 pm


काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यभार सम्हालेका छन्। हिजो अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिएका सिलवालले आज पदभार सम्हालेका हुन्।

समितिको कार्यालय कुपण्डोल ललितपुरमा आयोजित स्वागत कार्यक्रममा आफू यो क्षेत्रमा नयाँ भएकाले सबैलाई सहयोग गर्न अनुरोध गरेका छन्।

बीमा क्षेत्रमा आफू नयाँ भएकाले यसलाई बुझ्न केहि समय लाग्न सक्ने भएको बताउदै तत्काल गर्नु पर्ने कामहरु गर्दै जाने र बाँकी कुराहरु बुझेर अगाडी बढाउने सिलवालले बताए ।

नव नियुक्त अध्यक्ष सिलवालले दुई छाक खान पनि नपुग्नेको पहुँचमा बीमा पुग्न सके त्यो सार्थक हुने बताए ।

“एउटा झुपडीमा बस्ने गरिब मानिसले घरको बीमा गर्न सक्दैन। दुई छाक खान समस्या भएको मानिसले १० हजार निकालेर बीमा गर्न सक्दैन। त्यसैले यस्ता क्षेत्रमा हामीले काम गर्नुपछ,” उनले भने, “बीमा क्षेत्रमा अर्बपतिलाई मात्रै ल्याउने भन्दा पनि झुपडीमा बस्ने मानिहरुसम्म पुग्न सक्यो भने हामीलाई सबैले चिन्छन्।”

बीमा कम्पनीतर्फ संकेत गर्दै सिलवालले भने,”तपाईहरुले यो क्षेत्रमा लगानी गर्नु भएको होला मुनाफा कमाउनुस तर त्यो बैधानिक हुनु पर्‍यो ।”

कानूनको उल्लंघन गरेर अख्तियारको बाटोसम्म नपुग्न सिलवालले सबैलाई अनुरोध गरे।

“हामी आफै बाधियौं भने नियन्त्रण गरेर राख्नु पर्ने कुनै कारण छैन तर कडाइ गर्नु पर्‍यो भने हामीलाई नियन्त्रण गर्नै पर्ने बाध्यता हुन्छ,” उनले भने ।

बीमा क्षेत्रका समस्यालाई आफ्नो क्षमताले भ्याएसम्म समाधान गर्दै जाने सिलवालले बताएका छन्। बीमा क्षेत्रलाई नियन्त्रण गर्ने भन्दा पनि व्यवस्था गर्ने प्रतिवद्धता रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस !