५ आश्विन २०८१, शनिबार

रोल्पामा गौचरन र खानेपानी मुहान मासिने गरि ढुंगा खानी दर्ता, स्थानीय निकायको विरोध

प्रकाशित मिति :  6 February, 2021 10:15 am


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ८ मा खानेपानीको मुहान र गौचरन क्षेत्र मासिने गरेर खानी दर्ता भएको भन्दै विरोध सुरु भएको छ ।

स्थानीयवासीको ६५ रोपनी जग्गासमेत लिएर सिद्धी विनायक डोलोमाइट कम्पनीले वडाको खल्यो खोला, अम्रे डाँडाको ३ वर्ग माइल क्षेत्रफलको खानी दर्ता गरेपछि असन्तुष्टि देखिएको छ ।

वडा अध्यक्ष भिमबहादुर पुनले खानी दर्ताको कुरा सुनेको तर यसबारे आफूलाई केही जानकारी नभएको बताए । स्थानीय वासी र निकायसँग छलफल हुनुपर्नेमा सुटुक्क खानी दर्ता गरिएको भन्दै आपत्ति जनाए ।

वडा अध्यक्ष पुनले लुम्बिनी सञ्चारसँग भने,“बाहिर हल्ला चाहीँ खानी दर्ता भएको सुनेको छु । स्थानीयसँग छलफल कत्तिको गरियो ? त्यहाँको स्थानीय वासिन्दा, उपभोक्ताका लागि पानीघाट र गौचरन क्षेत्र हो ,सार्वजनिक जंगलहरू छन् । खानी उत्खननले गर्दा त्यहाँको समुदायलाई कत्तिको असर पर्छ भन्ने कुरा त व्यापक छलफल गर्नुपरो नि त्यो भएको छैन ।”

कम्पनीका सञ्चालक पुकार थापाले भने सर्वेक्षण लगायतका सबै काम सकिएको जानकारी दिए ।

उनले भने,“स्थानीयवासीकोे ६५ रोपनी जग्गा किनेका छौं बाँकी सार्वजनिक जग्गा हो ।”

थापाले वातावरणीय प्रभावबारे स्थानीयसँग छलफल गर्न पठाइने उल्लेख  गरे । तर वडा अध्यक्ष पुनमगरले भने स्थानीयले जग्गा कसरी बेचे भनेर अनौठो लागेको बताए । उनले भने, “सिफारिस चाहिन्छ होला जग्गा बेच्न त, त्यो पनि जानकारी छैन । यो त कुरा बुझिएन ।”

खानी सञ्चालक पुकार थापाले प्रकृया पुराएरै खानीको अन्तिम सर्वेक्षण गरिएको दाबी गरे । उनले भने,“हामीले सबै जानकारी गराएरै दर्ता गरेका छौँ । अन्तिम सर्वोक्षण भएर खानी विभागमा गइसकेको छ ।”



प्रतिक्रिया दिनुहोस !