४ आश्विन २०८१, शुक्रबार

भागरथी भट्ट हत्याको निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न विवेकशील साझाको माग

प्रकाशित मिति :  7 February, 2021 4:17 pm


काठमाडौं । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाको निष्पक्ष र वैज्ञानिक अनुसन्धान गर्न माग गरेका छन् ।

प्रवक्ता शरद राज पाठकले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग विनम्र अनुरोध गर्दछौँ।”

विवेकशील साझा पार्टीले न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा पार्टीको एैक्यबद्धता रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,”तर यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टी सम्बन्धित अधिकारीहरूलाई सचेत गराउन चाहन्छ।”

सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको विवेकशील साझा पार्टीको आरोप छ ।

विज्ञप्तिमा प्रवक्ता पाठकले सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !