३ आश्विन २०८१, बिहिबार

कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने निर्णयबारे संसदीय समितिको छलफल

प्रकाशित मिति :  8 February, 2021 2:36 pm


काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राउने सरकारी निर्णयबारे छलफल गरेको छ । कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन सरकारले ऐन संसोधन गरेपछि संसदीय समितिले चासो देखाएको हो ।

समितिले उद्योग,कृषि मन्त्रालयका सचिव,उद्योग विभागका महानिर्देशक र नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघका पदाधिकारीलाई समेत बोलाएर छलफल गरेको छ ।

छलफलका क्रममा समिति सदस्य राधेश्याम अधिकारीले दुई वर्ष नै नपुग्दै किन कानून संसोधन गरेर ल्याउनुपरेको भन्दै प्रश्न गरे । उनले कानूनको स्थायीत्व नहुँदा लगानीकर्ताले कुन आधारमा विश्वास गर्ने भन्दै प्रश्न गरे ।

समिति सदस्य शेर बहादुर कुँवरले कृषि क्षेत्रमा राज्य आफैंले लगानी गर्ने नीति तथा कार्यविधिमा ल्याई पास गरिसकेको छ भने फेरि विदेशी लगानी भित्राउन खोज्नु अनौठो भएको टिप्पणी गरे ।

उनले ठूला उद्योग भित्रदा साना पलायन हुनु स्वाभाविक भएको भन्दै यसको असरबारे ध्यान दिन आग्रह गरे । सदस्य शान्ती अधिकारीले कृषिमा बिदेशी लगानी आउँदा स्वदेशी उद्योग बन्द हुन सक्ने तर्फ सचेत गराइन् । उनले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन नहुनेमा जोड दिइन् । तुलसा दाहालले पहिला आइसकेका बिदेशी लगानीका उद्योगबारे बुझ्न आवश्यक रहेको बताइन् । सुमित्रा विसिले कानूनमा सबैले बुझिने गरि लेखिनु पर्ने र स्वदेशी उद्योगलाई घाटा हुन्छ भने कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन नहुनेमा जोड दिइन् ।

उद्योग सचिव बैकुण्ठ अर्यालले भने योभन्दा पहिला पनि विदेशी लगानी आएको र त्यसले खासै असर नगरेकोले अब पनि कृषि क्षेत्रमा भित्रने विदेशी लगानीले खासै असर नगर्ने तर्क गरे । उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले ऐन संसोधन नै अन्तिम नभएको भन्दै उठेका छलफल गरेर कार्यविधीमा समावेश गरिने बताए ।

कृषि तथा पशपंछी मन्त्रालयका पशुपन्छी सचिव डा.प्रेम नारायण कँडेलले सरकारले ऐन संसोधन गरिसकेकाले आफूहरुले विमति राख्न नमिल्ने बताए ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले हालसम्म बिदेशी लगानीमा आएका उद्योग कलकारखानाले के कति फाइदा भयो त? त्यसले किसानलाई के कति हित पुगेको छ ? भन्दै प्रश्न गरे । सरकारको आफ्नै नीति तथा कार्यक्रमभन्दा फरक कुरा आएकोले कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने निर्ण तुरुन्तै फिर्ता हुनु पर्नेमा जोड दिए । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले आत्मनिर्भर भएको क्षेत्रमा किन बिदेशी लगानी ? भन्दै यसले कुनै हालतमा नेपाली कृषि क्षेत्र र देशको हित नगर्ने बताए ।

डेरी उद्योगी निरन्जन श्रेष्ठले अन्य मुलुकमा यसरी सरोकारवालाहरुसंग कुनै छलफल नै नगरी कानून बिपरित किन र केका लागि ल्याइएको भन्दै आक्रोश व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अरनिको राजभण्डारीले सरकार आफैंले गरेको निर्णय बिपरित यसरी कृषिमा बिदेशी लगानी ल्याउँदा यहाँका सबै उद्योग व्यवसायी धरासायी हुने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !