५ आश्विन २०८१, शनिबार

सरकारले भन्यो : कोरोनाका कारण बजेट प्रभावित

प्रकाशित मिति :  9 February, 2021 4:00 pm


काठमाडौं । अर्थमन्त्रालयले कोरोना भाइरसको कारण चालु आर्थिक वर्षको बजेट प्रभावित भएको बताएको छ । मंगलबार अर्थमन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले चालू वर्षको सुरुदेखि अर्थतन्त्र सामान्य हुने अनुमान गरिएको भए पनि अर्थतन्त्र लयमा फर्कन समय लाग्ने भएकाले बजेटको कार्यान्वयन प्रभावित भएको बताए ।

कोरोना भाइरस महामारीका कारण बजेट खर्च हुनसक्ने अवस्था कम भएपछि अर्थमन्त्रालयले बजेटको आकारमा संशोधन गरेको छ, बजेटको मध्यावधि संशोधन गर्दै अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ४४ अर्ब रूपैयाँमात्रै खर्च हुने जनाएको हो । यो सुरु बजेटको ९१ प्रतिशतमात्रै हो ।

चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ७६ अर्ब रूपैयाँको बजेट ल्याएको थियो । कुल संशोधित बजेट खर्चमध्ये चालू खर्च ९ खर्ब १४ अर्ब र पुँजीगततर्फ २ खर्ब ८३ अर्ब रूपैयाँमात्रै खर्च हुने अर्थमन्त्रालयको अनुमान छ ।

चालूतर्फ सुरु बजेट विनियोजनको ९६ प्रतिशत रकम नै खर्च गर्नसके पनि पुँजीगततर्फ जम्मा ८० प्रतिशतमात्रै खर्च गर्नसक्ने अवस्थामा सरकार पुगेको हो । कोरोना भाइरस महामारीले प्रभावित बनेको अर्थतन्त्रमा मध्यावधि चुनाव घोषणा गरिएपछि पुँजीगत खर्च पनि खुम्चिएको हो ।

आर्थिक वर्षको बाँकी अवधिमा बजेट कार्यान्वयनका कार्ययोजना बनाएर खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।



प्रतिक्रिया दिनुहोस !