४ आश्विन २०८१, शुक्रबार

प्रचण्डको प्रश्न: केपीजी कम्युनिष्ट पार्टीको अध्यक्ष हो कि हिन्दू महासंघको अध्यक्ष हो ?

प्रकाशित मिति :  9 February, 2021 6:29 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव असंवैधानिक र अलोकतान्त्रिक हुने बताएका छन् ।

आज विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारले गर्ने चुनावमा सहभागि नहुने संकेत गरेका हुन् ।।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘विक्षिप्त’ रूपमा प्रस्तुत भएको बताउँदै सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गरे । उनले भने, “संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन ।”

अध्यक्ष प्रचण्डले थप उल्लेख गरे,”जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।”

ओली समूहले निर्वाचन आयोग तथा सर्वोच्च अदालतजस्ता संवैधानिक निकायसँग साँठगाँठ मिलाइसकेको भएर अब संसद् पुनस्र्थापना नहुने दाबी गर्दै हिँडेको प्रचण्डले आरोप लगाए।

ओलीले निर्वाचन गराउन खोजेका हुन् भन्ने आफूहरुलाई नलागेको उनको भनाइ थियो । “अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो,” अध्यक्ष प्रचण्डले भने , “अदालतमा चलेको बहस तपाईहरुले हेर्नुभएकै छ, निर्वाचन आयोगको काम पनि देख्नु भएको छ, दलहरुको पनि  त्यसकारण यदि प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश कदमलाई सदर गरियो भने नेपाल निक्कै ठूलो राजनीतिक भूमरीमा पर्छ ।”

अध्यक्ष प्रचण्डले ओली हिन्दू महासंघको अध्यक्ष हुन् कि कम्युनिष्ट पार्टीको अध्यक्ष भन्ने बारेमा प्रश्न उठेको बताए ।

“विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको हो ?” प्रचण्डले प्रश्न गरे ।

आफ्नो निर्वाचन क्षेत्रमा गएर प्रधानमन्त्री ओलीले राम मन्दिर र अयोध्याको कुरा गरेको उल्लेख गर्दै प्रचण्डले भने,”मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ। यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी कम्युनिष्ट पार्टीको अध्यक्ष हो कि हिन्दू महासंघको अध्यक्ष हो ?”

अध्यक्ष प्रचण्डले अहिले चलेको लडाइँ पदको निम्ति नभई न्याय र अन्यायको निम्ति भएको बताए । उनले ओलीलाई सत्ताको मात लागेको तानाशाहको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस !