४ आश्विन २०८१, शुक्रबार

नेकपा प्रचण्ड–नेपाल समूहको आज काठमाडौंमा प्रर्दशनसहित जनसभा

प्रकाशित मिति :  10 February, 2021 6:36 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा प्रर्दशनसहित जनसभा गर्दैछ ।

माघ महिनाभित्रै प्रचण्ड–नेपाल समूहले काठमाडौं केन्द्रित दोस्रो जनसभा गर्न लागेको हो । यसअघि माघ ९ गतेपनि काठमाडौंमा प्रर्दशन गरेको थियो । आजको सभामा २ लाख मानिस सडकमा उतार्ने उक्त समूहको दाबी छ ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै आएका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गर्दै आएका छन् । प्रचण्ड–नेपाल समूह प्रतिनिधि सभा विघटन प्रतिगामी कदम भन्दै सडक संघर्षमा छ । यो तेस्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रम हो ।

तेस्रो चरणकै कार्यक्रम अन्तर्गत यो समूहले धनगढी,बुटवल,विराटनगरमा जनसभा गरेका थियो भने यै बीचमा एक दिने आम हडताल समेत गरेको थियो । ओली समूहले पनि देशभर जनसभा तथा प्रर्दशन गरिरहेको छ । काठमाडौंमा माघ २३ गते ओली समूहले प्रर्दशन गरेको थियो ।

प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा सुनुवाई जारी छ भने पार्टी आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । आयोगले दुबै पक्षलाई विभाजनको मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहले आधिकारिकताको दाबी गर्दै माघ २० गते निवेदन दिएको छ । दुबै पक्षले आफू अनुकुल निर्णय गराउने दाबाव बढाउने प्रयास जारी राखेका छन् ।

आजको जनसभाका लागि प्रचण्ड–नेपाल समूहले काठमाडौं उपत्यकाको पाँच ठाउँबाट जुलुस निस्कने स्थान निर्धारण गरेको छ । जस अन्तर्गत पुल्चोक,त्रिपुरेश्वर, माइतीघर,केशरमहल र जमलबाट जुलुस निस्कने छ ।

मूल जुलुस सुन्धराबाट निस्कने छ । ११ बजेपछि सुरु हुने जुलुसका कारण काठमाडौंको ट्राफिक व्यवस्थामा भने असर पर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !