२७ पुस २०८१, शनिबार

लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दूतावासका प्रतिनिधिबीच छलफल

प्रकाशित मिति :  10 February, 2021 2:01 pm


काठमाडौं । नेपाल-भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दूतावासका प्रतिनिधिबीच आज परिसंघको कार्यालय थापाथली काठमाडौंमा छलफल भएको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरूको वर्तमान अवस्था राम्रो रहेकाले नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने भनदै लगानी विस्तार गर्नको लागि आग्रह गरे ।

नेपाल उद्योग परिसंघमा धेरै लगानीकर्ताहरू आवद्ध रहेकोले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको अध्यक्ष मोरले बताए । राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार गरेर मात्र देशको प्रगति हुन सक्ने अध्यक्ष मोरको धारणा थियो ।

नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सहज बनाउँदै जानु पर्ने धारणा परिसंघले राखेको छ ।

नेपालमा उत्पादन हुने वस्तुहरू भारत निर्यात गर्दा ‘ननटेरिफ बेरियर’को समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ । त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नु पर्ने तर्क परिसंघको छ ।

दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिन्छ त्यसर्फ ध्यान दिने बताए ।

यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नु पर्ने बताए । नेपालमा भारतीय लगानी विस्तार गर्नको लागि दुतावासको तर्फबाट सम्बन्धित पक्षसँग परामर्श गरी परिसंघसँग आगामी दिनमा सहकार्य गरी अघि बढ्दै जाने धारणा व्यक्त गरे ।

लगानीको वातावरण तयार गर्नको लागि आगामी दिनमा परिसंघ र दुतावासबीच छलफल गरी विभिन्न क्षेत्रका अवसरहरुलाई उजागर गरी लगानीकर्ताले चाहेको क्षेत्रमा लगानी विस्तार गर्न परिसंघले सहजीकरण गर्ने बताएको छ ।

उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नु पर्ने धारणा परिसंघको रहेको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आइटि, गार्मेण्ट, शिक्षा, औषधी उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।

नेपाल उद्योग परिसंघले नेपाल सरकारबाट भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने छलफलमा जानकारी गराइएको थियो । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु क्रमशः अनुज अगरवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !