५ आश्विन २०८१, शनिबार

नेपालको सुनचाँदी क्षेत्रमा झण्डै ७० हजार विदेशी कालिगढ,स्वदेशी कालिगढ उत्पादनमा गर्भनरको जोड

प्रकाशित मिति :  10 February, 2021 9:00 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र शीपलाई प्रवद्र्धन गर्न आग्रह गरेका छन् ।

नेपालको ठूलो जनशक्ति रोजगारीकालागि विदेश पलायन भइरहेको बेलामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको बाहुल्य रहेको उल्लेख गर्दै उनले स्वदेशमा नै पर्याप्त तालिमको व्यवस्था गरेर रोजगारी प्रवद्र्धनगर्न सकिने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि मण्डलसँग आज भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्तमात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिए ।

स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने शीप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

एक तथ्याङक अनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् । जसबाट ठूलो धनराशी विदेशिने गरेको छ ।

व्यवसायीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागू गर्न समेत जोड दिए ।

अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अव्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उनले आग्रह गरे । “सुनचाँदीको क्षेत्रमा ठूलाठूला कारोबार हुने गरेको भएपनि अझै सम्म पनि यस्तो कारोबार परम्परागत प्रविधि अनुरुप नै हुनेगरेको छ,” उनले भने “समय सापेक्ष रुपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।”

सुनचाँदी ब्यवसायीले अगाडि सारेका मागहरुबारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले संभव भएसम्म माग पुरा गराउन राष्ट्र बैंक तयार रहेको बताए ।

उनले सुनको आपूर्ति विदेशी मुद्राको संञ्चितिसँग सम्वन्धित रहेको उल्लेख गर्दै बजारको माग अनुरुप त्यसलाई ब्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको   बताए ।

उनले तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ दिन अगावै सिफारिस विना नै सुन बिक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रणगर्न, आपूर्तिमा लागू हुँदै आएको कोटाको सिमा पुनरावलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायज मागहरुको सम्वोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस !