४ आश्विन २०८१, शुक्रबार

नेतृ झाँक्री पक्राउको चौतर्फी विरोध, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर

प्रकाशित मिति :  11 February, 2021 6:02 pm


काठमाडौं । प्रहरीले राज्य विरुद्ध कसुर गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफतार गरेको छ ।

झाँक्रीको गिरफ्तारीपछि एका एक राजनीतिक माहोल फरक ढंगले तालिएको छ ।

झाँक्रीको गिरफ्तारीको नेपाली कांग्रेसका नेताले समेत विरोध जनाएका छन् । झाँक्रीलाई आज बिहानै प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर, उनले प्रहरीले बोलाउँदैमा  बोलाउँदैमा नजाने र पक्राउ पुर्जी लिएर आएमा गिरफतारी दिने बताएकी थिइन् ।

प्रहरीले झाक्रीको निवासमा पुगेर सुरुमा घेराउ गरेको थियो ।

रामकुमार झाँक्रीविरुद्ध जारी गरिएको पक्राउ पुर्जी

घेराउलगत्तै झाँक्री समर्थकसमेत भेला भएर गिरफ्तारीको विरुद्ध प्रर्दशन गरेका थिए । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाएर जारी गरिएको पक्राउ पुर्जी थमाएर गिरफ्तार गरिएको थियो ।

झाँक्रीको गिरफ्तारीको विरुद्धमा उनका समर्थकले गरेको प्रर्दशनले केही समय उनको निवास आसपास क्षेत्र तनावपूर्ण बनेको थियो । झाक्रीले गिरफ्तारी दिने क्रममा दै ठूलो संख्यामा जम्मा भएको समर्थकलाई सम्बोधन समेत गरेकी थिइन् । उनले संविधानमाथि बलात्कार भएको भन्दै प्रतिरोध जारी राख्न आग्रह गरिन् ।

झाँक्री पक्राउको चौतर्फी विरोध

नेतृ झाँक्री पक्राउपछि नेपाली कांग्रेसका नेताले विरोध गरेका छन् । सामाजिक सञ्जालमा वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखे,”सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !”

नेता गगन थापाले सामाजिक सञ्जालमा झाँक्री पक्राउको विरोध गर्दै भनेका छन्,”कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।”

झाँक्रीकै पार्टीले पनि विज्ञप्ति जारी गर्दै उनलाई विनाशर्त रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,”लोकतन्त्रमा राजनीतिमा संलग्न कुनैपनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्य विरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम,पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन ।”

नेपाली काँग्रेसले संस्थागत रुपमै विज्ञप्ति जारी गरेर झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले झाँक्रीलाई पक्राउ गरेको प्रति टिप्पणी गर्दै भने यो सरकारको काल आएकै हो ? उनले भनेका छन्,ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ१नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ !”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्नेरुयो सरकारको काल आएकै होर ?

झाँक्री पक्राउ गरेको विरोधमा उनका समर्थकले बेलुकी प्रर्दशन समेत गरेका छन् । झाँक्री रिहाको माग गर्दै उनका समर्थकले विरोध प्रर्दशन गरेका हुन् ।

झाँक्रीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । झाँक्री पक्राउ गरे लगत्तै आज रिट दर्ता गरिएको हो । आगामी आइतबारका लागि पेशी तोकिएको रिट निवेदक अधिवक्ता गुणराज आचार्यले जानकारी दिएका छन् । रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई विपक्षी बनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !