४ आश्विन २०८१, शुक्रबार

नेतृ रामकुमारी झाँक्री रिहा,प्रतिगमन झुक्ने प्रकृया सुरु भएको प्रतिकृया

प्रकाशित मिति :  11 February, 2021 7:32 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् ।

बिहान राज्य विरुद्धको कसुरमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले बेलुकी रिहा गरेको हो । झाँक्रीलाई पक्राउपछि महानगरीय अपराध महाशाखामा झण्डै साढे ५ घण्टा राखेको थियो ।

रिहापछि प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् ।

उनले आफूलाई दुव्यर्वहार गर्न पक्राउ गरिएको बताइन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेल्दा राज्यले पक्राउ गरेर दुव्र्यवहार गरेको उनको भनाई थियो । नेतृ झाँक्रीले अब प्रतिगमन झुक्ने प्रकृया सुरु भएको बताइन् ।

झाक्रीको रिहापछि नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नरायणकाजी श्रेष्ठले प्रतिगामी सरकार झुकेको प्रतिक्रिया दिएका छन् । समाजिक सञ्जालमा उनले भनेका छन,”कथित राज्य बिरुध्दको कसुर को आरोपमा गिरफ्तार गरिनुभएका हाम्रो पार्टीका केन्द्रीय कमिटीका सदस्य क. रामकुमारी झाँक्री रिहा । प्रतिगामी सरकार झुक्न बाध्य ।”

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध केहि दिन पहिले गोरखामा दिएको अभिव्यक्तिलाई लिएर नेकपा ओली समूहका नेता कार्यकर्ता आक्रोशित थिए ।

नेतृ झाँक्रीले गोरखामा भएको कार्यक्रममा बोल्दै भनेकी थिइन्,“राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।”

उनको थप भनाइ थियो,“मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।”

ओली समूह निकट महिला संगठनले झाँक्रीलाई कारबाहीको माग गर्दैै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र समेत बुझाएको थियो । झाँक्रीले राष्ट्रपति विरुद्ध कडा अभिव्यक्ति दिँदै आएकी छन् ।

यसैक्रममा प्रहरीले आज बिहान जरुरी पक्राउ पुर्जी दिएर गिरफ्तार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !