४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको बुटवल भाषण : अब मान्छे होइन बाकसबाट मत पत्र गनौँला

प्रकाशित मिति :  13 February, 2021 6:03 pm


रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब मान्छे हेर्ने होइन मतपत्र गन्नका लागि तयार हुनका प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् ।

आम सभाहरूमा ओली र प्रचण्ड–नेपाल समूहले एकले अर्कोलाई आमसभा हेर्न चुनौती दिने गरेका छन् । दुबैले आफ्नो सभा ठूलो भएको भन्दै हेर्न चुनौती दिने गरिरहेका बेला प्रधानमन्त्री ओलीले बुटवलमा आज भएको जनसभामा भने, “मान्छे हेर्न भन्नुहुन्छ उहाँहरुले अब मान्छे मात्रै किन बाकसबाट मतपत्रै निकालेर हेरौँला नि ।”

प्रत्यक्ष तर्फ बहुमत र समानुपातिकमा ५० लाख मतको दाबी

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको मुकाम बुटवलमा सम्बोधन गर्ने क्रममा प्रत्यक्ष तर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दोहोराए । उनले विगतका सार्वजनिक आमसभामा यो आँकडा दोहोराउने गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने,“ल घटाएर देखाउ त हामी प्रत्यक्ष तर्फ ५० लाख मत ल्याएर देखाउँछौं र प्रत्यक्ष तर्फ बहुमत सिट ल्याउछौँ । किन आत्तिएको ? किन चुनावबाट त्रसित भएको ?”

उनले आफ्ना पूर्व सहकर्मी तथा नेकपाको अर्को समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति आफ्नो निशाना साधेका थिए । अब नेपाली जनतालाई झुक्याउने,छक्याउने,तर्साउने समय समाप्त भएको समेत टिप्पणी गरे ।

पूर्व लडाकुलाई आर्कषित गर्ने प्रयास

नेकपाको अर्को समूहका नेताहरूप्रति सधै आक्रमक हुने अध्यक्ष ओलीले बुटवलको जनसभाबाट आफूले गरेको कामको विवरण समेत सुनाउन भ्याए ।

प्रचण्डमाथि आक्रमक भएका प्रधानमन्त्री ओलीले माओवादीका पूर्वलडाकुलाई सेवासुविधा दिने घोषण गरेर आफूप्रति आर्कषित गर्ने प्रयास समेत गरेका छन् । हिजो जनवाद आउँछ क्रान्ति हुन्छ भन्दै उचालेर अहिले प्रचण्डले सबै कुरा विर्सिएको उनको आरोप थियो ।

उनले भने, “हिजो सहिद बन्न लाम लगाउने, जीवन केही होइन भन्ने र मर्न सिकाउने काम भयो तर आफू सत्तामा पुगेपछि हिजोका लडाकुको अवस्था कहाँ छ ? मरेकाले त त्यस्तै हो, साहदत प्राप्त गरेकाले त त्यस्तै हो साहदत नगरेकाको पनि हालत के छ ?”

हिजो प्रचण्डले झुटा सपना देखाएर सबैको विजोग बनाएको ओलीको टिप्पणी थियो । उनले भने, “चाहे लडाकू हुन्, चाहे नेपाली सेनाका जवान र अधिकृत वा नेपाल प्रहरी र सशस्त्र प्रहरी र उनका परिवार वा राजनीतिक कार्यकर्ताको हालत के छ अहिले ?”

प्रधानमन्त्री ओलीले युद्धकालिन लडाकु,घाइतेको व्यवस्था गर्ने उल्लेख गरे । उनले पीडितलाई सम्मान र परिचयपत्र वितरण गर्ने, घाइते अपागंको उपचार गने र प्रत्येक परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने प्रधानन्त्री ओलीको भनाई थियो ।

हत्यामा संलग्नलाई नछोड्ने प्रतिबद्धता

उनले निर्मला हत्या काण्ड र भागिरथी हत्याका आरोपी पानीमुनी गएपनि नछोड्ने बताए । उनले अपराधी केही समय भागेपनि उम्कन नसक्ने बताए ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड नेपालले गरिरहेका छन् ।

प्रचण्ड नेपाल समूहले संसद पुनस्र्थापना हुनुपर्ने मागसहित देशभर आम सभा गरिरहेको छ । ओली समूहले पनि आफ्नो कदमको बचाउमा देशभर आमसभा गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !