५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीको दाबी : कोरोना संकटलेपनि नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन

प्रकाशित मिति :  15 February, 2021 1:49 pm


फाइल फोटो

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालमा अर्थतन्त्रको गति लयमा रहेको दाबी गरेका छन् ।

सरकारको नेतृत्व गरेको ३ वर्ष पुगेको अवसरमा प्रगती सुनाउँदै प्रधानमन्त्री ओलीले भने,”मैले सरकारको नेतृत्व सम्हाल्दा हाम्रो अर्थतन्त्र अस्तव्यस्त थियो । थलिएको र भद्रगोल पनि थियो । यस्तो अन्यौलमा रुमलिएको अर्थतन्त्रले सरकार गठनको वर्षदिन पूरा हुँदा नहुँदै लय समात्न सफल भयो । सरकारको पहिलो बर्षमा करीब ७ प्रतिशतको आर्थिक वृद्धि भयो । दोस्रो वर्ष ७ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि भयो । बेलायती पत्रिका ‘द इकोनोमिष्ट’ले नेपाललाई १० उदीयमान र उच्च आर्थिक बृद्धिको बाटो समातेका मुलुकमा समावेश गर्‍यो ।”

कोरोनाले विश्व अर्थतन्त्रको संरचना नै भत्काएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धिदर घटेपनि सरकारको सुझवुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको उल्लेख गरे ।

उनले भने,”कोरोनाले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो । केही मुलुकहरुको बृद्धि नकारात्मक रह्यो, कति मन्दीको चपेटामा परे । कैयौं देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगे । हाम्रो पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तीन बर्षको औसत बृद्धि साँढे पाँच प्रतिशतको हाराहारी रह्यो ।”

कोभिड–१९ को असर घट्दै जाँदा अहिले नेपालको अर्थतन्त्र फेरि पुरानै लयमा फर्किदै गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । चालू आर्थिक बर्षको पहिलो ६ महिनाका केही तथ्याङ्कले नेपालको अर्थतन्त्र, पुनः उच्च आर्थिक बृद्धिको बाटो समात्नेगरी चलायमान भइसकेको उनले दाबी गरे । उनले भने,”अर्को बर्ष, पन्ध्रौँ योजनाले प्रक्षेपण गरेको १० प्रतिशत हाराहारीको आर्थिक बृद्धिदर हासिल हुने सम्भावना प्रबल रहेको छ ।”

यसै आर्थिक बर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत १२४ अर्ब रुपैयाँ पुगेको भन्दै प्रधानमन्त्री ओलीले अघिल्लो आर्थिक बर्षको सोही अबधिमा यस्तो बचत २६ अर्ब रुपैयाँ रहेको बताए ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.५ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आयात ४.८ प्रतिशतले घटेको र निर्यात ६.१ प्रतिशतले बढेको बताए । बिप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको छ र कूल विदेशी विनिमय सञ्चिती अमेरिकी डलर १२ अर्ब ७८ करोड रुपैयाँ पुगेको प्रधानमन्त्रीको तथ्याङ छ ।

संघीय सरकारको खर्च ४१५ अर्ब ७५ करोड रुपैयाँ र राजस्व परिचालन ४२२ अर्ब २४ करोड रुपैयाँ भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीले जानकारी गराए ।

त्यस्तै १८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको र सार्वजनिक खर्चको आकारमा झण्डै २९ प्रतिशतले बृद्धि भएको बर्तमान सरकारको तथ्याङ छ । सार्वजनिक बजेटको आकार १८६.६४ अर्ब रुपैयाँले बढेको छ ।



प्रतिक्रिया दिनुहोस !