४ आश्विन २०८१, शुक्रबार

अवहेलना मुद्दामा सर्वोच्च अदालतलाई प्रचण्डको जवाफ : विपक्षीको औचित्यहिन निवेदन खारेज होस्

प्रकाशित मिति :  28 February, 2021 12:49 pm


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवहेलनासम्बन्धि मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । सर्वोच्चको आदेश अनुसार अध्यक्ष प्रचण्ड आफै उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।

प्रचण्डले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् ।

प्रचण्डले माघ १६ गते विराटनगरमा गरेको विरोध सभामा भाषण गर्दा अदालतको अवहेलना गरेको भनी सर्वोच्चमा परेको रिटमाथि जवाफ पेस गर्दै उनले यस्तो जिकिर गरेका हुन् । प्रचण्डले पेश गरेको लिखित जवाफमा अदालतको प्रशंसा समेत गरिएको छ ।

सरकारको योजना र प्रभावमा प्रस्तुत रिट निवेदनकर्ताले अदालतलाई कमजोर,निरिह देखाउन कोसिस गरेको प्रचण्डको टिप्पणी छ ।

उनले भनेका छन,“हाम्रो संविधानले न्यायापालिकालाई सक्षम,स्वतन्त्र र बलियो बनाएको छ । न्यायाकर्मीहरू दृढताका साथ न्याय दिन सक्ने अवस्थामा रहेको पाइन्छ । तर, निवेदक अदालत प्रभावित हुन्छ,भ्रममा रुमलिन्छ,तर्सन्छ भनेर प्रसार गर्दैछन् ।”

अदालत बाहिरी प्रभावमा नपर्ने, जुलुस सभा नहेर्ने र संविधान र कानून र न्यायमा मान्य सिद्धान्तमा दृढ हुन्छ भन्नेमा आफू विश्वस्त रहेको प्रचण्डको भनाई छ । प्रचण्डले आफू विरुद्ध दर्ता भएको रिट औचित्यहिन भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

उनले भनेका छन्,“विपक्षीको औचित्यहिन निवेदन दाबी खारेज गरि फुर्सद पाउन सम्मानित सर्वोच्च अदालत समक्ष सादर अनुरोध गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !