५ आश्विन २०८१, शनिबार

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनस्र्थापना कार्य सुरु

प्रकाशित मिति :  28 February, 2021 2:53 pm


काठमाडौं । काठमाडौंमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनस्र्थापना कार्य सुरु भएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापनाको काम संयुक्त रुपमा भूमि पूजन कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य श्री चन्द्र बहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपाल प्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी राम बहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवम् स्थानीय सदस्यको सहभागिता थियो ।

भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको ५.८ अर्ब रुपैयाँको आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो । यी सबै २८ साँस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् ।

सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माण हेतु नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुनस्र्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले निकायहरुको पहिचान गरिरहेको छ । केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनस्र्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनस्र्थापना हुनेछ ।

यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिनेछ । मन्दिरको साज सज्जा तथा काष्ठकला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्‍याइने प्राधिकरणको भनाई छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त सेतो मछिन्द्रनाथको मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाइ दुवै हिन्दू र बौद्घ धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् ।



प्रतिक्रिया दिनुहोस !