३ आश्विन २०८१, बिहिबार

विप्लव वार्ताको अन्तिम तुरुप निकाल्दै प्रधानमन्त्री ओली

प्रकाशित मिति :  2 March, 2021 1:42 pm


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद व्यवस्थापन गर्न नसकेपछि संसद विघटन गरेका र सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको निर्णयपछि निरीह बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले  नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा ल्याउने अन्तिम कार्ड डेकबाट झिकेका छन् ।

गत ८ फागुनमै सरकारसँग वार्ताका लागि प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध फुकुवाको घोषणा गर्ने र विप्लवले पनि वार्तामा आउने एक तहको सहमति भइसकेपछि पनि सरकारले यो अन्तिम पत्ता ‘होल्ड’मा राखेको थियो ।

Image

विप्लवका तर्फबाट सोही दिन नै वार्ताका लागि तयार रहेको विज्ञप्ति सार्वजनिक भए पनि राजनीतिक तराजुको ताैल हेरेर बसेका प्रधानमन्त्री ओलीले अन्ततः मंगलबार गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता समिति गठन गरेका छन् भने विप्लवले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीका सदस्यमा दीपक चलाउने रहेका छन् ।

वार्ताको घोषणा गरेको सरकारले विप्लव र उनको पार्टीमाथि प्रतिबन्ध फुकुवाको घोषणा भने गरेको छैन ।

रोचक कुरा छ भने प्रधानमन्त्री ओली नेतृत्वकै सरकारले विप्लवमाथि प्रतिबन्ध घोषणा गरेको थियो भने हालसम्म सो पार्टीका २ हजारभन्दा बढी नेता-कार्यकर्ता पक्राउ परिसकेका छन् ।

असंवैधानिक रूपमा संसद विघटन गरेपछि राजनीतिक रूपमा एक्लिदै गएका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको नेकपामा विप्लवलाई महासचिव बनाउन लागेको केही समययता हल्ला हुँदै आए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

पोखरामा आयोजित ओली नेतृत्वको नेकपाको भेलामा विप्लव नेतृत्व नेकपाका एक जना नेतालाई पार्टी प्रवेश गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !