३ आश्विन २०८१, बिहिबार

जीडीपी गणनाका लागि आधार वर्ष फेरियो, अर्थतन्त्रको आकार बढ्ने

प्रकाशित मिति :  4 March, 2021 11:52 am


काठमाडाैं ।
गत आर्थिक वर्ष  नेपालको आर्थिक वृद्धिदर करिब २ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले मुलुकको अर्थतन्त्रको आकार गणनामा प्रयोग हुने राष्ट्रिय लेखा तथ्यांकका लागि आधार वर्षमा परिवर्तन गरेर तयार तथ्यांकअनुसार आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको हो । पुरानो आधार वर्षका आधारमा भने आर्थिक वृद्धिदर २.२७ले सकारात्मक वृद्धिदर देखिएको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ मा नै आधार वर्ष परिवर्तनका लागि गृहकार्य भएकोमा केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ बाट लागू हुने गरी आधार वर्ष परिवर्तन गरेको हो ।

यसरी आधार वर्ष परिवर्तन गरिएको पाँचौं आधार वर्ष परिवर्तन हाे । यसरी आधार वर्ष परिवर्तन गर्दा अर्थतन्त्रका आकारमा केही वृद्धि भएको देखिने छ । हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुमानित आकार ३७ खर्ब  रूपैयाँबराबर छ । आधार वर्ष हेरफेरपछि जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब देखिएको छ, यो अघिल्लो आधार वर्षमा आधारित गणनाका तुलनामा करिब ५% बढी हो ।

हालको राष्ट्रिय लेखा तथ्यांकको गणना गर्दाको सन् आधार वर्ष २०५७/५८ ( सन्  २०००/०१) प्रतिस्थापन गरी नयाँ आधार वर्ष २०६७/६८ (सन् २०१०/११) को आधारमा विगत तथा आगामी वर्षहरूका स्थिर मूल्यमा गणना र मापन हुने राष्ट्रिय लेखा तथ्यांक तयार गरिएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।

नेपालमा २०१७ सालबाट राष्ट्रिय लेखा तथ्यांक तयार पार्न थालेकोमा आर्थिक वर्ष २०२१/२०२२ बाट लगातार रुपमा केन्द्रीय तथ्यांक विभागले वार्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।  यसअघि आर्थिक वर्ष २०२१/२२, २०३१/३२, २०४१/४२, २०५१/५२ र २०५७/५८ (२०००/०१) लाई आधार वर्ष मानि राष्ट्रिय लेखाका श्रृंखलाहरु तयार गरिएका थिए ।



प्रतिक्रिया दिनुहोस !