५ आश्विन २०८१, शनिबार
मोतिपुर औद्योगिक करिडोर विवाद

अर्थमन्त्री पौडेललाई नेता भुसालको चेतावनी : दमनको हिसाबकिताब हुनेछ

प्रकाशित मिति :  5 March, 2021 9:16 pm


काठमाडौं । रुपन्देहीका प्रभावशाली नेता मानिएका अर्थ मन्त्री विष्णु पौडेल र घनश्याम भुसालबीच विवाद चर्किएको छ ।

अर्थमन्त्री पौडेल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका महासचिव हुन भने घनश्याम भुसाल प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य हुन् । दुबै रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेता हुन् ।

अर्थ मन्त्री पौडेलले नेता भुसालको निर्वाचन क्षेत्रमा पुगेर आज औद्योगिक करिडोरको शिलन्यास गरेपछि आरोप प्रत्यारोप सुरु भएको छ । मोतिपुर औद्योगिक करिडोर शिलन्यासका क्रममा स्थानीयमाथि प्रहरी दमन भएको भन्दै नेता भुसालले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।

अर्थ मन्त्री विष्णु पौडेलले आज उद्योग मन्त्री लेखराज भट्टलाई लिएर आज बुटवलको मोतिपुर औद्योगिक करिडोरका शिलन्यास गर्न गएका थिए । करिडोरको शिलन्यासकै क्रममा प्रर्दशन र तोडफोड समेत भएको छ भने स्थानीयवासीले शिलन्यास स्तम्भ तोडफोड गरेका छन् ।

झडपमा सुरक्षाकर्मी र प्रर्दशनकारी समेत घाइते भएका छन् । झडप भएपछि मन्त्री पौडेलसहितको टोली पुरै कार्यक्रम नसकेर बाहिरिएको थियो । घटना सार्वजनिक भएलगत्तै भुसालले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् ।


बुटवलमा शिलन्यास कार्यक्रममा अर्थमन्त्री पौडेलमाथि ढुंगामुढा,शिलन्यास स्तम्भ तोडफोड(फोटोसहित)


उनले करिब साढे ४ दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिई उक्त औद्योगिक करिडोरको शिलन्यास गरेको भन्दै विरोध जनाएका हुन् ।

भुसालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “करिब साढेचार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिई, उनीहरुसँग सामान्य छलफल नगरी, वातावरणीय प्रभाव मुल्याङ्कनसमेत नभएको र केवल राजनीतिक प्रचारका लागि देखाइएको ’मोतिपुर औद्योगिक करिडोर’ को तथाकथित शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका स्थानीय बासिन्दामाथि काम चलाउ सरकारका दुईदुई जना मन्त्रीहरुले जुन दमनपूर्ण हर्कत गरेका छन् त्यसले उनीहरुको जनविरोधी मुकुण्डो उदाङ्गो भएको छ ।”

वातावरणीय प्रभाव मुल्याङ्कन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अगाडि बढाउने विषयमा उद्योगमन्री, औद्योगिक व्यवस्थापन लिमिटेडका अधिकारीहरुसँग भएको सहमतिसमेत तोडेको भुसालको भनाई छ ।

भुसालले भनेका छन्,“ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नाङ्गो नाच नाचेका छन् त्यसको हिसाब–किताब हुने नै छ ।”

भुसालले थप भनेका छन्,“आफ्नो हक–अधिकारको रक्षाका लागि उभिएका स्थानीय निहत्था नागरिक, खासगरी युवा र महिलाहरुमाथि आज उनीहरुले जुन दमन गरेका छन्, अपमानित गरेका छन् र घाइते बनाएका छन् ती अपराधीहरुलाई जनताको परिक्षणमा खडा गरिनेछ ।”

करिडोल भुसालको निर्वाचन क्षेत्रमा पर्छ । यसअघि पौडेलपनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए ।

नेता भुसालले अर्थमन्त्री पौडेललाई स्मरण गराउँदै भनेका छन्,“ज्ञातव्य के छ भने पहिलेका निर्वाचनमा त्यसै क्षेत्रबाट उम्मेदवार हुँदा मन्त्री विष्णु पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभैकन कोरिडोरबारे कुनै काम शुरु भए मैले राजनीतिबाटै सन्यास लिनेछु’ भनेर पटक–पटक बाचा गरेका थिए । आज तिनै विष्णु पौडेल तिनै नागरिकहरुमाथि लाठी बर्साउन पुगेका छन् ।”



प्रतिक्रिया दिनुहोस !