६ आश्विन २०८१, आइतबार

मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्दै, बागमतीमा पानीको सतह बढ्ने भन्दै सचेत रहन सरकारको आग्रह

प्रकाशित मिति :  6 March, 2021 12:50 pm


काठमाडौं । मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्दैछ । फागुन १० गते छोडिएको पानी आज सुन्दरीजल आइपुग्न लागेको हो ।

साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणि थापाले सुन्दरीजल पुगेर पानीको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम छ । मन्त्री थापाको सचिवालयले आज मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने जानकारी दिएको छ । सुरुङ्गबाट आएको फोहोर पानी बागमतीमा बगाइने छ ।

फोहोर पानी बगाइने भएकाले बागमतीमा पानीको सतह बग्न सक्ने भन्दै खोला किनारमा रहनुहुने सबैलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान गर्नका लागि २०५१ सालदेखि नै मेलम्ची खानेपानी आयोजनाको चर्चा चलेको थियो ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्राईले काठमाडौंमा आफ्नो चुनावी एजेण्डा बनाएका थिए । उनले आफूले चुनाव जिते मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएका थिए ।

मेलम्ची आयोजना विसं २०५८/५९ मा सुरु भएको थियो । आयोजना सुरु गर्दा गर्दा विसं २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर तोकिएको समयभन्दा झण्डै १३ वर्षपछि मात्रै मेलम्चीको पानी काठमाडौं प्रवेश गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !