६ आश्विन २०८१, आइतबार

रोल्पामा चुनढुंगा बोक्ने टिप्पर चल्न नदिइने,सहिद मार्गमा एक दिन यातायात बन्दको घोषणा

प्रकाशित मिति :  6 March, 2021 6:02 pm


काठमाडौं । सहिद मार्ग अन्तर्गत घोराही होलेरी सडक खण्ड सुधारको माग सुनुवाई नभएको भन्दै स्थानीयवासीले सडक बन्दसहित विरोधका कार्यक्रम सार्वजनिक गरेका   छन् ।

घोराहीमा रहेका सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने चुनढुंगा बोक्ने टिप्परका कारण सडक जिर्ण भएको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् । रोल्पाबाट सहिदमार्ग हुँदै घोराहीमा रहेका सिमेन्ट उद्योगका लागि टिप्परहरूले चुनढुंगा बोक्ने गर्दछन् ।

टिप्परका लागि उद्योगहरूले छुट्टै सडक बनाएका छैनन् । सहिदमार्ग सुधार संघर्ष समितिका संयोजक नन्दराम खड्काले विज्ञप्ति जारी गर्दै आफूहरुको माग ध्यानकर्षण गराउन फागुन २४ गते सोमबार एक दिन यातायात बन्दको घोषणा गरेको जानकारी गराएका छन् ।

उनले चुनढुंगा बोक्ने टिप्परको हकमा भने अर्को सूचना नहुञ्जेलसम्म बन्द गरिने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,“ शान्तिपूर्ण ढंगले नागरिकको मागलाई राख्दासमेत कुनैपनि सुनुवाई नहुँदा हामी नागरिकको मागलाई सम्बन्धित निकायमा ध्यान केन्द्रित गर्न पूर्वनिर्धारित कार्यक्रम बमोजिम घोराही होलेरी सहिदमार्गमा मिति २०७७ फागुन २४ गते सोमबारका दिन १ दिने यातायात बन्दको आयोजना गरिएको छ । साथै चुनढुंगा बोक्ने टिप्परको हकमा अर्को सूचना नहुन्जेलसम्म बन्द गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउदछौं ।”

सिमेन्ट उद्योगका टिप्परका कारण दाङ रोल्पा जोड्ने सहिद मार्गको अवस्था नाजुक भएपछि सुधार गर्न भन्दै फागुन पहिलो हप्ता संघर्ष समिति गठन भएको  थियो ।

करोडौं खर्च गरेर बनाइएको सहिद मार्ग हस्तान्तरण नहुँदै बिग्रिएपछि सुधारका लागि भन्दै ९ सदस्यीय संघर्ष समिति गठन भएको हो । सल्लाहकारमा ४ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !