६ आश्विन २०८१, आइतबार

सुन्दरीजलमा झर्‍यो मेलम्चीको पानी, छिट्टै काठमाडौंका धारामा वितरण हुने

प्रकाशित मिति :  6 March, 2021 6:16 pm


काठमाडौं । मेलम्चीको पानी आज सुन्दरीजल आइपुगेको छ ।

फागुन १० गते छोडिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुरुङ्गबाट आएको पानी फोहोर भएकाले बागमतीमा छोडिएको छ । पानीको अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पानी फोहोर भएकाले बागमतीमा बगाइएको बताए ।

उनले २६ गतेसम्म पानी सफा हुने र शिवरात्रीमा सफा पानीले बागमतीमा नुहाउन पाइने बताए । उनले भने, यसपटकका शिवरात्रीमा सफा पानीले नुहाउन पाइने छ ।

पानीको अवलोकन गर्नका लागि प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री, मन्त्री तथा सरकारी उच्च अधिकारीहरु सुन्दरीजल पुगेका थिए । प्रधानमन्त्री ओलीले केही दिनमै पानी काठमाडौंका धारामा वितरण गरिने बताए ।

फोहोर पानी बगाइने भएकाले बागमतीमा पानीको सतह बग्न सक्ने भन्दै खोला किनारमा रहनुहुने सबैलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान गर्नका लागि २०५१ सालदेखि नै मेलम्ची खानेपानी आयोजनाको चर्चा चलेको थियो ।

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्राईले काठमाडौंमा आफ्नो चुनावी एजेण्डा बनाएका थिए । उनले आफूले चुनाव जिते मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएका थिए ।

मेलम्ची आयोजना विसं २०५८/५९ मा सुरु भएको थियो । आयोजना सुरु गर्दा गर्दा विसं २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर तोकिएको समयभन्दा झण्डै १३ वर्षपछि मात्रै मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस !