३१ भाद्र २०८१, सोमबार

किसान सूचीकरण व्यवस्थापन प्रणालीको सूरुवात, अनलाइनबाट सूचिकरण गर्न सकिने

प्रकाशित मिति :  6 March, 2021 6:31 pm


काठमाडौं । अनलाइन बाटै किसानको सूचिकरण गर्ने कार्य सुरु भएको छ । सनिबार एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीमार्फत् किसान आफैले वा गाउँ पालिका वा स्वयं सेवकले सूचिकरण गर्न सक्ने व्यवस्था गरिएको छ । सूचिकरण भएका किसानलाई संघीय तथा स्थानीय सरकारको सहयोगले भेरिफाइ गरिनेछ छ ।

भेरिभाइ भएका किसानले अनलाईन बाटै सूचिकरण प्रमाणपत्र प्राप्त हुनेछ । सूचिकरणको आधारमा सहुलियत ऋण, अनुदान लगायतका सुविधा व्यवस्थित हुने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने बताइन्। किसानहरूको हक हितका लागि यो प्रणाली तयार पारेका हौँ । अब सबै किसानका गुनासो आजैबाट अन्त्य भयो,’ उनले भनिन् । यो प्रणाली लागु भएसँगै वितरणमा भएको झमेला, संघ र प्रदेशले गरेका कार्यक्रममा हुने दोहोरोपनाको अन्त्य हुने विश्वास समेत उनले बताइन् ।

प्रणालीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए । “अनुदानका विषयमा केही गुनासाहरु रहेका छन्, कृषि क्षेत्रका निम्ती दिइने अनुदानलाई व्यवस्थि तगर्न भरसक जिन्सी सामानहरु खरिद गरेर दिइनेछ”, उनले भने, “व्यक्तिगत भन्दा सामुहिक प्रयासलाई प्रोत्साहन गर्ने, व्यक्तिगत रुपमा दिनुपर्ने भएमा नगद रुपैयाँ नभएर किसानलाई आवश्यक पर्ने सामग्री खरिदमा जोड दिनुपर्छ ।”

सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सातै प्रदेशका सबै पालिकामार्फत सञ्चालन हुनेछ । कृषि पेसा र व्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण संकेत नम्बर अनिवार्य बनाएको छ ।

सूचिकरणका लागि किसान सूचीकरण सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ । किसान सूचीकरण प्राप्त गर्न तोकिएका संक्षिप्त विवरणहरू भर्नुपर्ने हुन्छ ।  ब्राउजर वा मोबाइल एप्लिकेसनमार्फत् सूचिकरण सुविधा प्रयोग गर्न सकिनेछ ।

युरोपियन युनियनको सहयोगमा प्रणालीको तयार गरिएको हो । मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले प्रणालीले वास्तविक किसानलाई सेवा उपलब्ध गराउन सहज हुने बताए ।



प्रतिक्रिया दिनुहोस !